८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

खरको छानो जस्तापाताले विस्थापित गर्दै स्थानीय तह



गुल्मी ।
गुल्मीमा खरका छाना विस्थापित गरी टिनका छाना लगाउने अभियान नै चलिरहेको छ । केहि स्थानीय तहले यो बर्ष नै खरका छानामुक्त स्थानीय तह घोषणा गर्दैछन् ।
जिल्लाका १२ मध्ये केही स्थानीय तहले आर्थिक बर्ष २०७४÷७५ मै खरका छाना विस्थापन कार्यक्रमको लागि बजेट विनियोजन गरेका थिए । यो बर्ष मात्रै जिल्लाका दुई नगरपालिकासहित सात स्थानीय तहले खरका छानामुक्त स्थानीय तह घोषणा गर्दैछन् ।
जिल्लाको इश्मा गाउँपालिकाका कुल लाभग्राही ५३८ मध्ये ५०२ परिवारले घर छाउने जस्तापाता पाएका छन्। खरको छानोमुक्त बनाउन गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको थियो। सो बजेटबाट ३०५ परिवारको घर जस्तापाताले छाइएको छ ।
खरको छानो विस्थापित गर्नकै लागि गत आर्थिक बर्ष ०७५÷७६ मा पनि गाउँपालिकाले ५० लाख र संघीय सरकारले १७ लाख ५० हजार रुपैयाँ गरी कुल ६७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । यो बजेटबाट गाउँपालिकाभित्रका १९७ घरको छानो छाइएको छ ।
यो बर्ष बाँकि ३६ घरको खरका छाना विस्थापनको लागि गाउँपालिकाले १० लाख विनियोजन गरेको छ । यो सँगै यही आर्थिक बर्षमा इस्मा गाउँपालिका खरका छानामुक्त गाउँपालिका बन्ने गाउँपालिकाकाले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ५ : ०० बजे