२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

५ लाख रुपैयाँ बराबरको आलु बरामद



वीरगञ्ज ।
भारतबाट अवैधरुपमा नेपालतर्फ ४ ट्रयाक्टरमा ल्याइरहेको करिब ५ लाख रुपैयाँ बराबर २ सय क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले आज बिहान पक्राउ गरेको छ ।

ना ६ त ६३४९, ना ५ त ९४२८, ना ४ त २५०४ र ना ५ त ८०८६ नंको ट्रयाक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए ।

उनले भारतबाट अवैध रूपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्रयाक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

बाराको पिपरापातीलगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् ।

बरामद गरिएको आलु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ । रासस

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ३ : ४३ बजे