२० जेष्ठ २०८१, आइतबार | Sun Jun 2 2024

कोरोना भाइरसः संक्रमणको कारण, लक्षण र बच्ने उपायसहीत



मायादेवी अनलाइन ।
चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता बढेको छ । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।

चीनको हुवानबाट सुरु यो भाइरसबाट अहिलेसम्म २२ सय भन्दा बढीको मृत्यु भैसकेको छ भने हजारौं प्रभावित छन् । कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो फैलँदै गएको हो । वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  १२ : ०० बजे