९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको भाउको नयाँ रेकर्ड : ८० हजार तीन सय



काठमाण्डौँ । सोमबार सुनको मूल्य ८० हजार कटेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ।आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार बढेर प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा पुगेको छ।

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ।विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ०३ बजे