३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

ए वान क्वीज सिजन थ्रीः वाणगंगाबाट हिलवर्ट र जनता मावि जिल्लास्तरका लागि छनोट



मायादेवी अनलाइन, चारनम्बर ।
‘ए वान क्वीज सिजन थ्री’ अन्तरगत वाणगंगामा शुक्रबार भएको नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूल प्रथम भएको छ । नगरभित्रका १४ माध्यमिक विद्यालयको सहभागीतामा भएको प्रतियोगीतामा पिपरामा अवस्थित जनता मावि द्धितीय स्थान आउन सफल भएको छ । यो संगै जिल्लास्तरमा हुने फाइनल प्रतियोगीतामा हिलवर्ट र जनता मावि छनोट भएका छन् ।
पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलमा भएको प्रतियोगीतामा बरवामा रहेको एभर ग्रिन इंग्लिस बोर्डिङ स्कूल तेस्रो भएको छ भने बोडगाउँमा रहेको भूपु सैनिक इंग्लिस बोर्डिङ स्कूल सान्त्वना भएको छ ।
प्रतियोगीता उद्घाटन गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले शिक्षा क्षेत्रको विकासमा नगरपालिका योजनाबद्ध तरिकाले लागेको बताउनुभयो । शिक्षाको विकास विना विकास अपुरो हुने भन्दै हरेक बर्ष नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि रचनात्मक काम गरिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्नेमा जोड दिनुभयो । जीवन प्रतियोगीता नै प्रतियोगीताको खेल भएको चर्चा गर्दै उहाँले प्रतियोगीतामा जीत र हार स्वभाविक रहेको बताउनुभयो । प्रतियोगीतामा सामेल हुनु नै महत्वपूर्ण कुरा भएको भन्दै यस्ता रचनात्मक क्रियाकलापमा जसरी भएपनि सहभागीता जनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराईले नगर स्तरीय प्रतियोगीतामा उपाधि जित्ने प्रतियोगीले जिल्लास्तरको पनि उपाधि जित्नेमा आफु आशाबादी रहेको बताउनुभयो । जिल्लास्तरको उपाधि जितेर वाणगंगाले इतिहास रच्नेमा आफु आशाबादी रहेको उहाँले बताउनुभयो ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले ए वान मिडियाले हरेक बर्ष सञ्चालन गर्दै आएको हाजिरी जवाफ प्रतियोगीतालाई आफुले नजिकबाट नियाल्दै आएको भन्दै यो कार्यक्रम विद्यार्थीका लागि महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । प्रतियोगीतामा उपाधि जित्ने विद्यार्थीले कक्षा ११ र कक्षा १२ मा पूर्ण छात्रवृत्ती पाएर सुनौलो भविष्य कोर्ने अवसर रहेको भन्दै विद्यार्थीलाई लगनशिल भई सहभागीता जनाउन आग्रह गर्नुभयो ।
मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो । नगरपालिकामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गर्ने प्रतियोगी विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
ए वान मिडिया सेन्टर कपिलवस्तुको आयोजनामा भैरहेको कार्यक्रम जिल्ला भित्रका ६ नगरपालिकामा सञ्चालन हुने छ । नगरपालिकाबाट प्रथम र द्धितीय स्थान आउने प्रतियोगीले जिल्लास्तरमा सहभागीता जनाउन पाउने छन् । जिल्लास्तरमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीले बुटवलका न्यू होराइजन मावि, एभरेष्ट मावि र कपिलवस्तु बनगाईको पारीजात माविमा पूर्ण छात्रबृत्तिमा कक्षा ११ र १२ मा पढ्न आउने आयोजकले जनाएको छ । विहीबार मात्र बुद्धभूमिमा छनोट चरण सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ७ : ०४ बजे