३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

वडाध्यक्ष प्रकाश गैरेले तलव माग्दा आफ्नै शिक्षकलाई कुटे ! पीडितले दिए प्रहरीमा जाहेरी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका एक वडाध्यक्षले चरम दादागिरी देखाएको पाइएको छ । बेला बेला कुटपिट तथा अनियमितता प्रकरणमा मुछिदै आएका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे भनेर चिनिने रुद्र बहादुर गैरेले आफ्नै शिक्षकमाथि दादागिरी शैली देखाएका हुन् । सदरमुकाम तौलिहवामा अवस्थित बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूलका सञ्चालक समेत रहेका वडाध्यक्ष गैरेले काम गरेको तलव माग्दा आफ्नै शिक्षकमाथि हातपात गरेर घाइते बनाएका छन् ।
यशोधरा गाउँपालिका वडा नं. ५ बस्ने शिक्षक रमेश बढई वडाध्यक्षको बोर्डिङमा दुई बर्षदेखि कार्यरत रहदै आएका थिए । शिक्षक बढईले पटक पटक आफुले पढाएको तलव माग्दै आएपनि वडाध्यक्ष गैरेले दिएका थिएनन ।
विहीबार दिउँसो तलव माग्न गैरेको कार्यकक्षमा पुगेका शिक्षक बढईमाथि अपमान शैलीमा गालीगलौज गर्दै आफुले लगाएको बेल्ट फुकालेर शरीरमा हिर्काएको पाइएको छ । गैरेको कुटाईबाट बढईको शरीरमा निल डाम छ ।
वडाध्यक्ष गैरे माथि कारबाहीको माग राख्दै बढईले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरीमा उनले दिएको जाहेरीमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा हदैँसम्मको कारबाही माग गरिएको छ ।
शिक्षक बढईलाई कुटपिट गरेको आधा दर्जन शिक्षकले प्रत्यक्ष देखेको पनि उनले बताएका छन् ।
वडाध्यक्षमा निर्वाचित भएदेखि उनी विभिन्न समय विवादमा मुछिदै आएका छन् । गत बर्ष मात्रै उनीमाथि कुटपिटको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको थियो । गत बर्ष नै उनले एक सार्वजनिक शौचालय निर्माणमा केही रकम अनियमितता गरेको समाचार एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको थियो ।

वडाध्यक्ष गैरेबाट कुटिएका शिक्षक बढई ।
पीडित शिक्षक बढईले प्रहरीमा दिइएको जाहेरी ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : ३८ बजे