५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ऋण सहायता बढाउँदै दातृ निकाय



काठमाडौं ।
दातृ निकायहरूले नेपाललाई दिँदै आएको अनुदान रकम घटाउन थालेका छन् भने ऋण बढाउन थालेका छन् ।

अर्थ मन्त्रालयको ‘विकास सहायता रिपोर्ट–२०१९’ अनुसार नेपालले गत आर्थिक वर्षमा दातृ राष्ट्रबाट ६० प्रतिशत ऋण, २७ प्रतिशत अनुदान र १३ प्रतिशत प्राविधिक सहयोग पाएको छ ।

रिपोर्टअनुसार दुई वर्षदेखि विश्व बैंक, एसियाली विकास बैंकलगायतका मुख्य दाताले ऋणको अनुपात बढाउँदै लगेका छन् । विश्व बैंक र एसियाली विकास बैंकपछि चीन सर्वाधिक सहायता रकम उपलब्ध गराउने मुलुक हो ।

यस्तै बेलायत, संयुक्त राष्ट्रसंघ कन्ट्री टिम, जापान र युरोपियन युनियन सर्वाधिक अनुदान दिने दाता हुन् । जर्मनी, अमेरिकालगायतका मुलुक प्राविधिक सहयोग दिनेमा अगाडि छन् ।

गत आवमा विश्व बैंकले कुल ५२ करोड ८० लाख अमेरिकी डलर रकम उपलब्ध गराएको थियो। जुन कुल सहयोग रकमको ३३ प्रतिशत हो ।

एसियाली विकास बैंकले २९ करोड ३० लाख अमेरिकी डलर अर्थात् १९ प्रतिशत सहयोग उपलब्ध गराएको छ । विश्व बैंकबाट प्राप्त सहयोगको ९५ प्रतिशत ऋण हो भने एसियाली विकास बैंकबाट प्राप्त सहयोगको ८९ प्रतिशत ऋण हो ।

छिमेकी चीनले १५ करोड अमेरिकी डलर उपलब्ध गराएको छ । जुन कुल वैदेशिक सहयोगको १० प्रतिशत हो। चीनले उपलब्ध गराएको रकममध्ये ७० प्रतिशत अनुदान र ३० प्रतिशत प्राविधिक सहायता हो ।

दातृ राष्ट्र र निकायले ऋण सहायता बढाएसँगै मुलुकको ऋणभार पनि बढेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  १ : २८ बजे