५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मधौलीया कृषि सहकारीको अध्यक्षमा चौधरी निर्वाचित



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा ५ मधौलीमा रहेको मधौलीया कृषि सहकारीको अध्यक्षमा राम औतार चौधरी निर्वाचित हुनुभएको छ । शनिबार भएको सहकारीको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
सहकारीको उपाध्यक्षमा प्रेम ढकाल, सचिवमा खडानन्द गौतम, कोषाध्यक्षमा दिपेन्द्र कार्की, सदस्यहरुमा कमल प्रसाद पोख्रेल, कमल खनाल, नन्दराम पोख्रेल, सीता भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको छ ।
अधिवेशन उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले कृषि सहकारीले समुदायमा आफ्नो लक्ष्य अनुसार काम गर्नुपर्ने बताउनुभयो । नगरबाट सहकारी ऐन बनेको भन्दै सहकारीको नीति र नियममा रहेर सहकारीहरु सञ्चालन गर्नुपर्ने नगर प्रमुख थारुले बताउनुभयो ।
वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले मधौली सहकारी वडाकै सबैभन्दा राम्रो सहकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । सहकारीको विकासले वडाको समृद्धि कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै कृषि सहकारीको साथमा वडा कार्यालय सधै रहेको बताउनुभयो । साधारण सभामा वडा सदस्यहरु कृष्ण प्रसाद थारु, राम प्रसाद थारु, समाजसेवी बलदेव चौधरी लगायतको आतिथ्यता रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ९ : ५१ बजे