१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कोरोनाबाट जोगिन बाणगंगा ४ झुँगाका प्रवेशद्धारमा लाग्यो ‘बार’



मायादेवी अनलाइन, चार नम्बर ।
देशभर कोरोना भाइरसको माहमारी बढ्ने संकेत देखिएपछि कपिलवस्तुको बाणगंगा नगरपालिकामा बिभिन्न संघ संस्था र टोलहरुले आ-आफ्नो ढंगल सतर्कता अपनाउन सुरु गरेका छन् । एक ब्यक्ति र अर्को ब्यक्तिको सम्पर्कबाट कोरोना भाइरस तीव्र ढंगले सर्ने हुँदा यसबाट जोगिन बाणगंगा-४ झुँगामा प्रवेश निशेषध गरिएको छ ।

आइतबार विहान स्थानीय मुहान युवा क्लवको सक्रियतामा झुँगाका भद्रभलाद्मीसहितको टोलीले बिभिन्न स्थानका प्रवेशद्धारमा बार लगाएका छन् । तौलिहवा रोडको पूर्वपपट्टी पिस हिमालय रिसोर्टनजिकै, कुँवर हार्डवेयरबाट पूर्वपट्टी प्रवेश गर्ने बाटोमा र इटाभट्टीबाट उत्तरतिर छिर्ने बाटोमा ढुङ्गा मुढासहितको बार लगाइएको छ । अत्यावश्यक र एम्बुलेन्स, मिडियाबाहेक कोही पनि त्यसबाटो भएर हिँड्न नपाउने मुहान क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना खतरनाक रोग भएकाले यसबाट जोगिने उत्तम उपाय भनेकै व्यक्ति सम्पर्कबाट टाढा रहनु हो । एकजनाले पनि कोरोना लिएर गाउँमा प्रवेश गरे भने सिङ्गो गाउँ नै तहसनहस हुने खतराले गाउँमा छिर्ने स्थानमा बार लगाएका हौँ । सम्पुर्ण गाउँले आमाबुबा, दाजुभाइ दिदीवहिनीलाई कडाइका साथ यो नियम पालना गर्न अनुरोध गर्दछु ।”


अपरिचिति जस्तोसुकै ब्यक्तिलाई भने कुनै हालतमा प्रवेश नदिइने उहाँको भनाई छ । यदि कसैले अटेरी गरी नियम उलंघन गर्ने र बार भत्काउने लगायतका काम गरेको पाइए कडा कारबाही गर्ने पनि क्लवले चेतावनी दिएको छ । गाउँमा ५ जनाभन्दा बढी जम्मा नहुने पनि सहमति भएकाले सबैलाई सोही अनुसार गर्नु गराउनु हुन क्लवका संस्थापक अध्यक्ष तथा समाजसेवी छवि रेश्मीको भनाई छ ।

साथै क्लवले गाउँका कोही कसैलाई पनि अनावश्यक रुपमा बाहिर नजान, गाउँमा जम्मा भएर नबस्न, लुकेर तास नखेल्न, विदेशबाट आएकाहरुसंगको सम्पर्कबाट टाढा रहन पनि अनुरोध गरेको छ । सरकारले गरेको लक डाउनको अवधिभर गाउँमा प्रवेश निशेध गरिएको क्लवका पूर्व अध्यक्ष प्रकाश सेनले बताउनु भयो । यसअघि सिद्धार्थ टोलमा पनि अपरिचिति ब्यक्तिलाई रोक लगाउन बार लगाइएको थियो । यस्तै नगरका अन्य स्थानमा पनि स्थानीय संघसंस्था र क्लवले यस्तो काम सुरु गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ८ : ५३ बजे