७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

चीनबाट काठमाडौं आइपुग्यो स्वास्थ्य सामग्री



काठमाडौं ।
कोभिड–१९ संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चीनको ज्याकमा फाउन्डेशन र सरकारले खरिद गरेका स्वास्थ्य सामग्री आज विहान काठमाडौं आइपुगेको छ । चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओमा ज्याकमा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्रीहरु काठमाडौं आईपुगेको हो ।

सरकारले ललितपुरको कृष्ण गल्लीस्थित ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट सवा एक अर्ब रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरी उसले चीनमा संकलन गरेका सामग्री ल्याएको हो । सम्झौतामा उल्लेख भएअनुसार १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर अर्थात १ अर्ब २४ करोड ६८ लाख नेपाली रुपैयाँका सामग्रीहरु सो कम्पनीमार्फत सरकारले खरिद गर्ने सम्झौता गरेको हो ।

सिचुवान प्रदेश र चिनियाँ दूताबासबाट प्राप्त हुने सामग्री १ दशमलव १ मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान १ दशमलव ४ मेट्रिक टन हो ।

ती स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सामान खरिदको सम्झौतामा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र कम्पनीकी प्रबन्ध निर्देशक डा. सीमा सिटौलाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार १ अर्ब २४ करोड बराबरका उक्त सामाग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ ।बाँकी सामग्री अप्रिल २ र ५ तारिखमा नेपाल ल्याउने कम्पनीसँग सम्झौता भएको छ ।

ढुवानी खर्च पनि सम्बन्धित कम्पनीले नै व्यहोर्ने हो । हिजो पठाइएको वायुसेवा निगमको जहाजको खर्च कसले व्यहोर्ने भने खुलेको छैन ।

सरकारले सहयोग तथा आफैले खरिद गरी कोरोना भाईरस रोकथाम, परीक्षण तथा उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधीहरु पहिलोपटक ल्याएको हो । आजैबाट यी समाग्री बाँड्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ८ : ४७ बजे