६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

स्पेनमा एकै दिन कोरोनाले लियो ९१३ जनाको ज्यान



एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको ‘हटस्पट’ बनेको स्पेनमा अवस्था थप चिन्ताजनक भएको छ ।संक्रमितको संख्या स्पेनमा पनि कोरोना भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै भएको छ । यस्तै मृत्यु हुनेको संख्याले नयाँ उचाई लिएको छ ।पछिल्लो २४ घण्टामा ९१३ जनाको मृत्यु भएपछि स्पेनमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या सात हजार ७१६ पुगेको छ ।इटालीपछि कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश स्पेन हो । यस्तै स्पेनमा पछिल्लो २४ घण्टा थप सात हजार ८४६ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ८७ हजार ९५६ पुगेको छ ।

यो सँगै स्पेन संक्रमितको संख्यामा पनि चीन भन्दा माथि उक्लिएको छ । सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा स्पेन तेस्रो नम्बरमा छ । चीनमा संक्रमित हुनेको संख्या ८१ हजार ४७० रहेको छ ।स्पेनमा स्वास्थ्यकर्मी पनि कोरोना भाइरसको जोखममा आएका छन् । गएको आइतबार २८ वर्षका डाक्टरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै अहिलेसम्म स्पेनका झण्डै १० हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।स्पेनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि लकडाउन गरिएको छ । यस्तै निर्माणसहितका अत्यावश्यक नरहेका कामहरु रोकिएका छन् । अन्तिम संस्कारहरु पनि प्रतिबन्धित भएका छन् । आपतकालीन अवस्था नटुंगिएसम्म प्रतिबन्ध फुकुवा हुने छैन ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ०८ बजे