४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

पिपराले बुटवल पठाएको विरामी रातभर हिडेर पिपरा ! स्थानीय सरकारमाथि गम्भिर प्रश्न ?



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना आशंकामा सोमबार कपिलवस्तु वाणगंगा–३ राजापानीबाट वुटवल पठाइएका एक विरामी पुनः पिपरा आएका छन् । सोमबार दिउँसो उनलाई कोरोना भाइरसको आशंका गरिएपछि एम्बुलेन्सबाट वुटवल पठाइएको थियो । अत्याधिक ज्वरोसंगै टाउको र छाती दुखेपछि ती व्यक्ति आफैले साइकल चलाएर उपचारका लागि सोमबार पिपरा अस्पताल पुगेका थिए ।
तर, स्वास्थ्यकर्मीले त्यहाँ उपचार गर्न हिचकिचाएपछि उनलाई बुटवल थप उपचारका लागि पठाइएको थियो । कोरोनाको त्रासले उनलाई कसैले छुन मानेका थिएनन भने एम्बुलेन्स चालकले बुटवल लगेका थिए । बुटवलको धागो कारखानामा तयार पारिएको कोरोना अस्पतालमा उनलाई एम्बुलेन्स चालकले लगेको र त्यहाँ अनुमती भन्दा विपरित आएको भन्दै स्वास्थ्यकर्मीले थर्काएर पठाएका थिए ।
त्यहाँबाट उनलाई लुम्बिनी प्रादेशिक अस्पताल वुटवलको गेटमा छाडेर आफु कपिलवस्तु फर्किएको एम्बुलेन्स चालक मधु बेल्वासेले मायादेवी अनलाइनलाई बताएका छन । ती विरामी व्यक्तिको साथमा कोही गएका थिएनन । अहिले उनी पिपरा अस्पतालमा पुनः आइपुगेको नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बताए । पिपराले गम्भिर प्रकृतीका विरामी ठानेका उनी कसरी पिपरासम्म आए प्रश्न गम्भिर तरिकाले उठेको छ । उनी हिड्दै पिपरा आएको बताइएको छ ।
वाणगंगाका नागरिक कोरोना संक्रमणले बुटवल उपचार गर्न गएपनि यसमा जनप्रतिनिधिको चासो नदेखिएको भन्दै आलोचना भएको छ । कोरोना हो या होइन कुनै पत्ता नलाग्दै यसरी विरामीलाई हतोत्साहित गराउने काम भएको भन्दै आलोचना भएको हो । सोमबार विरामीको अवस्था गम्भिर छ भन्दै बुटवल अस्पताल पठाएको अस्पतालकी प्रमुख डा. रञ्जिता महतोले आज ती व्यक्तिको अवस्था ठिकै रहेको मायादेवीलाई बताइन । हिजो कसरी वुटवल पठाउनुपर्ने अवस्था आयो आज कसरी ठिकै भन्ने प्रश्नमा उनले अहिले यो प्रश्नको जवाफ दिन समय नभएको बताइन ।


हेर्नुहोस यसरी भयो विरामीको गोलचक्कर !
कोही व्यक्तिमा कोरोनाको आशंका लागे स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा राख्नुपर्ने हुन्छ । जिल्लाका सबै स्थानीय तहले क्वारेनटाइन बनाएका छन् । यदी गम्भिर प्रकृतीका विरामी छन भने आइसोलेसन वार्डमा भर्ना गर्ने गरी स्थानीय सरकारले प्रबन्ध मिलाएका छन । तर, वाणगंगामा सोमबार पिपरा अस्पताल पुगेका विरामीलाई अस्पतालले आफ्नो आइसोलेसनमा नराखेर सिधै बुटवल पठाएको छ । यसरी सिधै बुटवल विरामी पठाउँदा बुटवलस्थित कोरोना विशेष अस्पतालले आफुलाई थर्काएको एम्बुलेन्स चालक मधु बेल्वासेले गुनासो गरेका छन । यसरी एक्कासी विरामी यहाँ लिएर आउन पाईदैन भन्दै अस्पतालले थर्काएको चालक बेल्वासेले बताएका छन । कोरोना विशेष अस्पतालले थर्काएर पठाएपछि एम्बुलेन्स चालकले विरामीलाई प्रादेशिक अस्पताल बुटवलको गेटमा लगेर छाडेर आफु फर्किएको बेल्वासेले जनाए । चालकका अनुसार विरामीको साथमा कोही थिएनन् ।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले यो विषयमा थप बुझेर बताउने बताए । रातभर विरामी कहाँ गयो भनेर हामी चिन्तित थियौं अहिले विरामी भेटिएका छन्, स्वास्थ्य शाखा प्रमुख पौडेलले भने’,–‘अहिले खुसी छौं ।’
वडा नं. ३ का एक स्थानीयले वाणगंगाका विरामीको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताए । आफ्ना नागरिक कहाँ छन् के गर्दै छन भन्ने जिम्मा स्थानीय सरकारको हो उनले भने’,–“सोमबार बुटवल पठाइएको विरामी कसरी पिपरा आए यसको छानविन हुनुपर्छ ।”
कपिवलवस्तुका तीन स्थानीय तहले आइसोलेसन वार्ड बनाएका छन । जस मध्ये कपिलवस्तु नगरपालिकामा ४, शिवराज नगरपालिकामा २ र वाणगंगा नगरपालिकामा २ बेडका आइसुलेसन वार्ड छन । वाणगंगामा अहिलेसम्म कुनै व्यक्ति आइसुलेसनमा नपठाइए पनि सोमबारका विरामी आइसुलेसन वार्डमा पठाउने प्रकृतीका रहेपनि पिपरा अस्पतालले सिधै वुटवल पठाएको थियो । यो विषयमा छानविन हुनुपर्ने यहाँका सरोकारवालाहरुले आवाज उठाउन थालेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ८ : ५६ बजे