२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

महामारीविरुद्ध लड्न सर्वदलीय संयन्त्र उपयुक्त हुन्छः अध्यक्ष राणा



काठमाडौं ।
कोरोना महामारीविरुद्धको लडाइँमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले बताएका छन् ।

बन्दाबन्दीको चरणलाई सरकारले अन्तिम सफलताका रूपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ । दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै संवेदनशील क्षेत्रमा विशेष जोड दिएर परीक्षणको क्रम व्यापक बनाउनुपर्ने उनको सुझाव छ ।

आइतबार ट्विट गर्दै उनले भने, “कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ । पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।”

मातृभूमि फिर्ता आएका धेरैले स्वास्थ्य प्रोटोकल पूरा नगर्दाको जोखिमतर्फ ध्यानाकर्षण गराउदै राणाले दुर्गम क्षेत्रहरूको चुनौती सम्बोधन गर्न स्थानीय तथा प्रान्तीय संरचनालाई क्रियाशील तुल्याउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  २ : ३४ बजे