७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिवराज विपद् कोषमा सहयोगी हातहरु बढ्दै, कस्ले कति दिए ?



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’मा सहयोगी हातहरु बढ्दै गएका छन् ।
कोभिड–१९ (कोरोना भाइरस) सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहतका लागि स्थापना गरिएको विपद कोषमा सहयोगी मनहरु बढ्दै गएका हुन् । समाचार तयार पार्दासम्म शिवराज विपद् कोषमा सहयोगी दाताहरुबाट मात्र ३ लाख ५४ हजार १सय ५५ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाले ६३ लाखको कोष स्थापना गरेको थियो । यससँगै प्रकोप व्यवस्थापन कोषमा कूल ६६ लाख ५४ हजार १सय ५५ रुपैयाँ संकलन भएको बताइएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहत पुगोस् भन्ने उद्देश्यले रोटरी क्लब अफ कपिलवस्तुले १९हजार ५सय बराबरको ५सय किलो चामल सहयोग गरेको अध्यक्ष ज्ञानुप्रसाद पोखरेलले जानकारी दिएका छन् । यस्तै प्रधानमन्त्री राहत कोषमा रोटरी क्लब अफ कपिलवस्तुको तर्फबाट ३० हजार जम्मा गरिदिएको रोटरी कपिलवस्तुका अध्यक्ष पोखरेलले बताए । रोटरी क्लब अफ कपिलवस्तुले राहतका लागि कूल ४९ हजार ५सय रुपैयाँ बराबर नगद र खाद्यान्न सरकारलाई सहयोग गरेको रोटरी अध्यक्ष पोखरेलले जनाए ।
यता व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं ओम व्यवसायिक प्रतिष्ठानका संचालक महादेव पोखरेलले शिवराज नगरपालिकाद्वारा स्थापित विपद् व्यवस्थापन कोषमा ५५ हजार ५सय ५५ रुपैयाँको चेक नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई हस्तान्तरण गरेका छन् । आफू जस्तै अन्य सबैले दिएको सानो सहयोगले दैनिक जीवन यापनमा समस्या भएका अति विपन्न र असहाय परिवारलाई ठूलो राहत पुग्ने पोखरेलले विश्वास व्यक्त गरे ।
अटल सिमेन्ट प्रालिका व्यवस्थापक एवं चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमसेर अलि मियाले भने नगरपालिको लक्षित विपन्न वर्ग १६सय परिवारलाई वितरणका लागि नगरपालिकाको जिम्मा लगाएका छन् । अलि मियाँले कूल ८ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको खाद्य सामग्री अलग अलग १६सय पोका बनाई शिवराज नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिए । राहत सामग्रीमा प्रति परिवारका लागि १० केजी चामल, एक केजी दाल, एक पोका तेल र एक पोका नुन रहेको छ । यो महामारीको समयमा दैनिक ज्यालादारीमा निर्भर रहने घरपरिवारलाई थोरै भएपनि केही राहत पुग्ने मियाँले प्रतिक्रिया दिए ।
कपिलवस्तु प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले शिवराजका अति विपन्न परिवारका लागि २० क्विन्टल चामल शिवराज नगरपालिकालाई प्रदान गरेका छन् । नगरका गरीब बिपन्न परिवारलाई बितरण गर्न सांसद शाहले नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ६ : १४ बजे