१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

“लकडाउनमा मेरो दैनिकी”



नारायण खनाल ।
सुन्नु
मानवीय मृत्युका
खबर सुनाउँदा सुनाउँदै
दुर्बल बनेर निभ्न लागेका
समाचार बाचकका आवाजहरु
हेर्नु
भ्रमका सर्जकहरुबाट सृजित
सामाजिक सञ्जालका
तरङ्गित भ्रमहरु
अनि
यथातथ्य खोज्नु सत्यहरु
यस्तै छ
लकडाउनमा मेरो दैनिकी ।

भ्रष्टाचारको दुर्गन्ध सुँघ्दै
भोको पेट उँग्दै गर्ने
आमाहरूको पिडामा
मल्हम लगाउनेहरुको खोजीमा
निरन्तर खट्ने आँखा

दही चिउरेहरुको लाममा
बोलिको पक्का
नेपाली सन्तान जन्मिएको
खुसीमा चम्किने
आमाको अनुहार हेर्न
व्यग्र प्रतीक्षारत
मनलाई साथ दिनु
फगत सेवाको डङ्का पिट्दै
ब्यबहारमा
शुन्य कर्म गर्नेहरूको भिडमा
एउटा बिस्कुटमा पचासौं हातहरु
दानी कहलाउन
तछाडमछाड
गरिरहेका तस्बिर हेर्दै
अवाक बन्नु
अनि आफ्नै मनले छाम्नु
कोरोना कहरले
जकडिएको संसार
यस्तै छ
लकडाउनमा मेरो दैनिकी ।

तरङ्गमालीमा
समृद्ध देशका
सपनाहरु खोज्दै
कोरोनाको हारको
समाचार सुन्ने आश सँगै
अपकर्मीको
सत्यानाशको कामना गर्दै
विछ्यौनामा
निदाउनका लागि पस्रनु
बस् ! यस्तै छ
लकडाउनमा मेरो जिन्दगी ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ८ : ३४ बजे