१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अबको केही हप्ता अझै चुनौतीपूर्ण छः प्रधानमन्त्री ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जो जहाँ छन्, त्यहीँ बसे सङ्कटलाई टार्ने सकिने पनि बताउनुभयो । अबको दुई हप्ता अझै चुनौतीपूर्ण रहेकाले कोरोना समुदायमा फैलन सक्ने हुँदा विशेष सचेतता अपनाउन उहाँले जोड दिनुभयो ।

देशवासीका नाममा सम्बोधन गर्दै उहाँले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने नागरिकलाई समस्या भए पनि नागरिकको जीवन रक्षाका लागि लकडाउनको विकल्प नभएको बताउनुभयो ।

सङ्कटको यो घडीमा एकजुट हुन आग्रह गर्दै उहाँले खोप र औषधि बनिनसकेकाले थप सावधानी अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सङ्कटको समयमा सावधानी अपनाउन नसके ठूलो क्षति बेहोर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बोधनकै क्रममा अभाव र चुनौतीका बाबजुद पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गरिरहेको कामको उहाँले प्रशंसा गर्नुभयो । नेपालले चालेका कदम विकसित देशको भन्दा प्रभावकारी भएको पनि उहाँको दाबी छ ।

प्रधानमन्त्री ओलीले यस्तो बेला प्रदेश सरकार र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । महामारीको दोस्रो चरणमा प्रवेश गरेकाले लकडाउन कष्टकर भए पनि पूर्णरुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न सरकारले तीन सूत्रीय विधि अपनाएको बताउनुभयो । बिरामी ओसारपसारका लागि उपयुक्त व्यवस्था गरिएको भन्दै उहाँले ३० हजार पाँच सय ६६ जनालाई राख्न सकिने गरी क्वरेण्टीन तयार रहेको बताउनुभयो । यस्तै तीन हजार दुई सय ५९ क्षमताको आइसोलेशन शय्या बनाएको र अहिले त्यसमा ५५ जना उपचाररत रहेको उहाँको भनाइ छ ।

अहिले ९ हजारभन्दा धेरै क्वरेण्टीनमा छन् । उनीहरु सबैको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

सातै प्रदेशका १० वटा परीक्षण केन्द्रबाट स्वास्थ्य परीक्षण गरिएको र परीक्षण द्रूत गतिमा गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । क्वरेण्टीनमा लापर्वाही गरेर बसे स्वयं व्यक्ति, परिवार र सिङ्गो समाजले महँगो मूल्य चुकाउने बाध्य हुने उहाँको भनाइ छ ।

साथै प्रधानमन्त्री ओलीले दुई हजारभन्दा धेरै नेपाली भारतको क्वरेण्टीनमा रहेको र सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भारतसँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले सीमामा अलपत्र परेका दुई हजार एक सय ४७ जना नेपालीलाई भारतकै क्वरेण्टीनमा राखिएको र नेपालमा रहेका सात सय भारतीय नागरिकलाई पनि क्वरेण्टीनमा राखिएको उहाँले बताउनुभयो ।

भारतीय क्वरेण्टीनमा रहेकाहरुलाई निश्चित समयपछि स्वास्थ्य परीक्षण गरेर नेपाल ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै उहाँले विदेशमा रहेका केही नेपालीको ज्यान गएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले विदेशमा रहेका नेपाली दूतावास र गैरआवासीय नेपालीसँगै विभिन्न देशका प्रधानमन्त्रीसँग नेपालीहरुका बारेमा जानकारी लिने काम भइरहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ३ : १२ बजे