५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

“मर्दैछु म आज ”



नारायण खनाल ।
बिदाई सुन्ने बित्तिकै
मलिन हुने अनुहारका
पिडाका झिल्का सम्झँदै
देश दुख्दा
चिरिने मुटुका
आर्तनाद अनुभुती गर्दै
प्रेम अभावमा चस्किरहेका
घाउहरु सुमसुम्याउँदै
बिछोडिनुको पिडाले
चिथोरिइरहेको ,मन सम्हाल्न
जनलाई आग्रह गर्दै
खुसी खुसीले
म मर्दैछु आज
तिमीलाई जन्माउन ।

जनको खुसी फुलाउन
म कैयौंपटक चिथोरिएँ
लुछिएँ,च्यातिएँ
अहँ
किञ्चित दुस्ख मानिन
किनकि
मैले ,सगरमाथा अग्लियोस् भन्दा
कोप्राएर देश उघ्रनेहरु र
जनताको पसिना चुस्नेहरु मात्रै भेटिन
स्वाभिमान जोगाउन बलिवेदीमा
होमिने सन्तानहरु पनि देखेँ
सृजना गर्ने हातहरुका
न्यायिक मनहरु पनि भेटेँ
त्यसैले त,
मैले पुरा गर्न नसकेको
पुण्यकाम पुरा गर्ने कार्यभार
तिमीलाई सुम्पदै
खुसी खुसीले
म मर्दैछु आज
तिमीलाई जन्माउन ।

कोरोनाको त्रासले
अत्तालिएको विश्व
काँपिरहेकी मातृ र
बन्दाबन्दिले उकुसमुकुस संसार
सबैलाई ढाडस दिँदै
नेपाली मनको फाँटमा
हिमाली पवनले चुम्न
देश निर्माणमा ,शालिग्राम बन्न
भोका पेटहरु
सातुको बासनाले बाँच्न
विवश बन्दापनि
देशप्रेमको अटलतामा
दाग लाग्न नदिन
सफल बन्नु ,
नेपाली मनका खुसी फुलाउन सक्नु
राष्ट्रको समृद्धि झुलाउन सक्नु
कोरोनाको दुर्गति गराउनु
यही जिम्मेवारी सुम्पँदै
मस्तै शुभकामना दिँदै
खुसी खुसीले
म २०७६ मर्दैछु आज
तिमी २०७७ लाई जन्माउन ।

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  ३ : २० बजे