२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

कोरोना महामारीः राज्यले आफ्ना नागरिक चिनोस्



अनिलकिशोर घिमिरे ।
तिब्र प्रतिस्पर्धाको होडबाजीमा एउटा रफ्तारमा दौडिरहेको मान्छेको जिन्दगीको यात्रालाई कोरोना भाइरसले टक्क अडाइदिएको छ । यसले संसारका सबै बर्गहरुलाई एउटै सतहमा उभ्याइदिएको छ । डब्लुएचओको स्वास्थ्य सुबिधा सूचीमा पहिलो र दोस्रो स्थानमा पर्ने क्रमशः फ्रान्स र इटली देखि १५० औं स्थानमा पर्ने नेपालसम्म कोरोनाले प्रभावित पारेको छ । मन्दिरका ठूलाठूला भजनकिर्तन र पूजाआजा रोकिएका छन्, सायद मन्दिरमा अहिले हिन्दुहरुका भगवान छैनन् । क्रिश्चियनका चर्चहरुमा प्राथना हँुदैन, सायद चर्चमा यशु आउन छोडे । मक्का मदिना मस्जिदहरु नमाजका लागि बन्द गरिएका छन्, सायद मस्जिदमा अल्लाह नाम नजपेपनि हुन्छ ।
बिश्व रङ्गमन्चमा प्रभुत्वशाली मानिएका, खरबौं पैशा खर्च गरेर आणविक अस्त्र शस्त्र निर्माण गरेका, चिकित्साबिज्ञानमा नाम कहलिएका थुप्रै मुलुकहरु अहिले रन्थनिएको अवस्था छ । हामीलाई थाहा छ, हामी सबैले एकदिन यस धर्तिबाट अवकाश लिनुपर्छ तर कहिलेकाहीँ अप्रत्यासित घटना हुन्छन् र त्यस्ता घटनाहरुले मानवीय अस्तित्व नै संकटग्रस्त हुन्छ तब हाम्रो सोच चिन्तन र मनोबिज्ञानले ठूलो चुनौतीको सामना गर्नपर्ने हुन्छ । कोरोना महामारीको संकट सम्पूर्णरुपमा समाधान हुन केहि बर्ष पनि लाग्ने अनुमानहरु हुन थालेका छन् । यदि त्यसो भयो भने त्यसले बिश्वको सामाजिक, आर्थिक संरचना सोंच र दृष्टिकोणमा कैयौं उथलपुथल ल्याउने छ ।
२०१९ डिसेम्वर ३१ मा चिनबाट शुरु भएको कोभिड–१९ को सन्दर्भमा बिश्व राजनितीका खेलाडीहरुबिच कैयौं आरोप प्रत्यारोपहरु चले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई चिनिया भाइरस वा वुहान भाइरस भनेर आरोप लगाए । पहिले–पहिलेका रोगहरुलाई पनि अफ्रिकी रोग र अफ्रिकाको छाला नै संक्रमण निम्ताउने प्रकारको छ भनेर आरोप खेपेको र नश्लियताको शिकार भएको कुरा नाइजेरियाका मानवअधिकारबादी लाओलु सेन्वान्जोले बताएका छन् । उनले भनेका छन् ‘कुनै रोगलाई कुनै क्षेत्र बिशेषका मानिससंग जोड्न शुरु गर्ना साथ एक अर्कालाई राष्ट्रियताको सानो परिचयमा खुम्चाउने र त्यसमार्फत मानवतालाई नामेट पार्ने बेइमान र खतरनाक प्रयास शुरु हुन्छ ।’ यसप्रकार अरुलाई दोषारोपण गरेर अमेरिका आफु मानव संवेदनामाथी खेल्ने प्रयत्न गरेको देखिन्छ । उसले जतिसुकै घमण्ड गरेपनि आज आफ्ना नागरिकहरुलाई कोभिड–१९ बाट जोगाउन हम्मेहम्मे परेको यथार्थता प्रष्ट देखिन्छ । उसले भनेजस्तो कुनैपनि रोगले गोरो कालो छाला वा अफ्रिकी, चिनिया वा एशियाली शरिर भन्दैन ।
प्रार्थना गरेर जोगिने भए अमेरिकाको भर्जिनिया स्थीत न्यू डेलिभिरेन्स इभान्जेलिस्टीक चर्चका पाष्टर बिशप जेरल्ड ग्लेनको मृत्यु हुने थिएन । यसले बर्ग हेर्ने भए स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु हुने थिएन । यसै गरी कोरोनाको कारण फ्रान्सका पूर्व मन्त्री प्याट्रिक दुभेज्याको मृत्यु भएको छ । उत्तर इटलीको चेने नगरपालिकाका मेयर गोर्जीयो भ्यालोरी पनि बाँच्न सकेनन् । जर्मनीका अर्थमन्त्री थोमस स्याफरले कोरोनाकै चिन्ताले आत्महत्या गरे । स्पेनका २१ बर्षिय फुटबल कोंच फ्रान्सीस ग्रासियाको समेत ज्यान गयो । बेलायतका राजकुमार चाल्र्स, प्रधानमन्त्री वोरिस जोनसन र स्वास्थ्यमन्त्री हानककलाई कोरोना संक्रमण भयो । यसभन्दा अगाडिका संक्रमण र महामारीबाट पनि ठूला घराहना तथा शाषकहरु समेत प्रभावित भएका इतिहास पाइन्छन् । सन् १८३६ मा बिश्वकै सबभन्दा धनि ब्यक्ति नाथन रोथस्चाइल्ड मृत्यु संक्रमणबाट भएको थियो । १८४१मा अमेरिकी राष्ट्रपति विलियम ह्यारिसनको मृत्यु सेप्टिक सकका कारण भएको थियो । सन् १९१८ को जनवरी देखि बिश्वमा फैलिएको स्पेनीस फ्लुको महामारीले दक्षिण अफ्रिकाका प्रधानमन्त्री लुइस बोथा तथा स्विडेनका राजकुमारको मृत्यु भएको थियो । त्यतिबेला बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्ज तत्कालीन अमेरिकी राष्ट्रपति र जर्मनीका राजा समेत संक्रमित भएको पाइन्छ । त्यो महामारीले बिश्वभर ८ देखि १० करोड मान्छेको ज्यान गएको थियो भने भारतमा मात्रै १ करोड ७० लाखको मृत्यु भएको थियो । सो महामारीबाट महात्मा गान्धीका नाती र बुहारीको समेत मृत्यु भएको थियो । यसैगरी सन् १९४१मा अमेरिकी राष्ट्रपति केल्भिन कोलरिजका छोराको मृत्यु पनि संक्रमणबाटै भएको थियो ।
अहिलेसम्म एचआइभी एड्सबाट रोग पहिचान भएको १९७६ देखि हालसम्म करिब ४ करोडको ज्यान गएको र ४ करोड नै संक्रमित भएको सामान्य तथ्याङ्क पाइन्छ । पछिल्लो एक सय बर्षमा फ्लुजन्य रोग (स्वाइन फ्लु, बर्ड फ्लु, एशियन फ्लु, इन्फ्लुन्जा¬) को संक्रमणबाट करिव ५ करोडको ज्यान गएको छ । प्लेग महामारीको कारण करिव १० करोडको ज्यान गएको पाइन्छ । जसलाई चौधौ शताब्दीको ब्लेक डेथ पनि भनिन्छ । १८५२ र १९१० तिर हैजाको कारण बिश्वमा करिव १ करोडको ज्यान गएको थियो । सन् २००२मा दक्षिण चिनबाट शुरु भएको सार्सले ३० मुलुकमा फैलिएर करिब ९ हजार मान्छेलाई संक्रमण गराई ८१३ जनाको ज्यान लिएको थियो । २०१२ मा साउदी अरबबाट शुरु भएको मर्सले २७ मुलुकमा फैलिएर २५ सय ब्यक्तिलाई संक्रमित पार्दै ८५८ जनाको ज्यान लिएको थियो । नेपालमा अहिलेसम्म ठूलै महामारीले प्रभाब पारेको १७७२ तिर हो । तीन सय बर्ष अगाडिको महामारी शिर्षकमा डा.महेशराज पन्त लेख्छन्–१७७२ चैत्रमा देखापरेको महामारीले गर्दा १८ हजार घरधुरी रहेको काठमाडौका १८७१४ ब्यक्तिको मृत्यु भएको थियो । तत्कालीन राजा भाष्कर मल्ल पनि मरेका थिए । सायद त्यो प्लेग थियो । बाढी, पहिरो, भुकम्प, सडक तथा हवाइ दुर्घटना, सामुन्द्रीक आँधी जस्ता बिपत्तिबाट पनि बार्षिक लाखौं मान्छेको ज्यान गइरहेको हुन्छ । यी प्रकृतिका थुप्रै घटना परिघटनाहरुले मानिसलाई यो सभ्यताको चरणसम्म आइपुग्न थुप्रै ब्यवहार र पाठहरु सिकाएको छ । अहिलेको कोभिड–१९ को संक्रमण अधिकांश देशमा फैलिसकेको छ । यसले अहिले सिंगो संसारलाइ हल्लाइरहेको छ । कोरोना महामारीले नयाँ प्रबिधि, नयाँ आविश्कार र नयाँ ज्ञान तथा चेतनालाई चुनैति दिदै आएकोले यसबाट पनि कैयौं नयाँ सोंच चिन्तन र ब्यवहारहरु श्रृजना हुनेछन् ।
कोरोना महामारीबाट आजसम्म १८४२३५ जनाको ज्यान गइसकेको छ भने २६३७८८८ जना संक्रमित भएका छन् । र ७१७८१९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना बिरुद्धको औषधि पत्ता लागेको छैन् । औषधि पत्ता लाग्ने र औषधि आम जनताको पहुँचमा पुग्नेबेला सम्म कति मानवीय क्षति हुनेहो आंकलन गर्न सकिदैन । यसको प्रकृति, गति, स्वरुप र आयु समेत अनिश्चित भइरहेको सन्दर्भमा यसले १५० बर्ष यताकै सर्बाधिक ठूलो आर्थिक मन्दि हुनसक्ने सर्बेक्षण अर्थबिदहरुले गरेका छन् । संसारभर उद्धार र राहतका कैयौ प्याकेजहरु आएपनि यसले धेरैसमय धान्ने अवस्था आउँदैन । अव यसको संक्रमण बढ्दै गयो र बन्दाबन्दी जारी राख्ने स्थिति रह्यो भने उत्पादन चक्रमै संकट उत्पन्न भएर बिश्वब्यापी खाध सुरक्षाको संकट श्रृजना हुने खतरा बिश्व स्वास्थ्य संगठनलेनै औंल्याइसकेको छ । यसले गरिबी र असमानतालाई पनि झन बढ्वा दिनेछ । अहिलेसम्म धनिहरु धन थुपार्न ब्यस्त र गरिवहरु अभाब र बेचैनिमा जीवन गुजार्न बाध्य भइरहेको पृष्ठभूमिमा यस महामारीले झन आर्थिक अराजकता निर्माण गर्ने खतरा छ ।
नेपालमा हालसम्म ४८ जना संक्रमित भएका छन् । ९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन् । यो हाम्रो लागि खुसीको कुरा हो कि हामीले सतर्कता अपनाउन प्रयाप्त समय पाएका छौं । तर प्रयाप्त समय भएपनि अब्यवस्थित राज्य, भ्रष्ट शाषक र प्रशाषक, परनिर्भर मानसिकता आदी कारणले कोरोना संक्रमणको नियन्त्रणका कामहरु प्रभाबकारी बन्न सकिरहेका छैनन् । आफ्ना नागरिकहरुलाई सुरक्षित गर्ने र ब्यवस्थापन गर्ने कामको लागि संसारमा राज्यहरुको निर्माण भएको हो । तर हाम्रो देशमा सरकारले प्रभाबकारी रुपमा देश बिदेशमा भएका नागरिकहरुको सुरक्षा र ब्यवस्थापन गर्ने काम गरिरहेको छैन् । नेपालमा पहिलो संक्रमण देखिएको जनवरी २४ मा हो । त्यो बेलासम्म कोरोनाको संक्रमण चिन बाहिर फैलिसकेको थियो । त्यसपछिकोे करिव तीन महिनासम्म राज्य तहबाट सामान्य नियमित कार्य बाहेक युद्धस्तरमा कार्य गरेको देखिएन ।
स्वास्थ्य परिक्षण सामग्री खरिद प्रक्रियामा नै कैयौं ढिलासुस्ती गर्ने र अनियमितता भएका समाचारहरु आएका छन् । यस सन्दर्भमा पूर्व प्रधानन्यायधिस शुशिला कार्किले लेख्छिन् –‘यो मुलुकमा केही यस्ता प्रकृतिका मान्छे रहेछन् जो कहिल्यै परिवर्तन हुन सकेनन् । तिनको संस्कारमा कुनै परिबर्तन आउन सकेन् । राणाकाल होस् या पन्चायत, कांग्रेशकाल वा अहिलेको बामपंथी कालसम्म पनि राज्यको श्रोत दोहन मात्र गर्ने क्षमताधारी गज्जबका रहेछन् । यो बर्ग त यस मुलुकको कोरोना भन्दापनि बलियो, नमर्ने, नजल्ने, नगल्ने, नसेलाउने, नहराउने, नसड्ने भाइरस रहेछन् ।’ यसप्रकारले हेर्दा राज्यले आफु बिश्वसनीय ढङ्गले परिचालन नहुने, सरकारी गैरसरकारी तथा निजी क्षेत्रलाई सहकार्य र समन्वयका साथ अगाडि नबढाउने साथै सिमित ब्यक्ति, सिमित ब्यापारी र ठेकेदारहरुलाई प्रयोग गरेर यति ठूलो महामारीबाट पार पाउने महत्वकांक्षा राख्ने गर्यो । यसले हाम्रो राज्य वा सरकार केको लागि र कसका लागि भन्ने प्रश्न खडा गरेको छ ।
हाम्रो मुलुकका करिब ५० लाख युवा जनशक्ति रोजगारी र अध्ययनको सिलसिलामा भारत, खाडि राष्ट्र लगाएत अन्य बिदेशी भूमिमा रहेका छन् । हाम्रो देशको अर्थतन्त्रको धेरै हिस्सा उनीहरुले पठाएको रेमिटेन्सबाट धानिएको छ । तर राज्यका निकायसंग बिदेशमा गएका आफ्ना नागरिकहरुको यथार्थ बिबरण छैन र उनीहरुको अवस्थाकोबारे जानकारी लिने काम गरेको देखिदैन् । बिदेशमा रहेका दुतावासहरुले समेत सम्बन्धित देशमा रहेका नेपालीबारे यथार्थ तस्विर दिन सक्दैनन् । सरकारका मान्छेको निहित स्वार्थ पुरा गर्नको लागि आफ्नो नजिकका मान्छेहरुलाई योग्यता र कार्यदक्षता बिपरित राजदुतमा नियुक्ति गर्ने परिपाटीले गर्दा उनीहरुले आफ्ना नागरिकहरु प्रति जवाफदेही र जिम्मेवार बन्न सकिरहेका छैनन् । नेपालमा रहेका कैयौं आफ्ना नागरीकहरुलाई अमेरिका, अष्ट्रेलिया चिन लगाएतका मुलुकहरुले बिमान चार्टर गरि लगेका छन् । भुटानले आफ्ना दुइजना नागरिकको लागि पचास सिटको जहाजनै पठाएर लग्यो । तर, हाम्रो देशको सरकारले भारतीय सिमामा अलपत्र नेपालीलाई घर आउनबाट बन्चित गर्यो । हप्तौ दिनसम्म भोकै प्यासै बस्दा समेत सरकारले दुख देखेन । महाकाली नदीमा जोखिम मोलेर आफ्नो देशको माटो छुन आएका निर्बस्त्र नेपाली नागरिकहरुलाइ हत्कडी लगाउन प्रहरी तैनाथ गरियो । अलपत्र नेपालीलाई उद्धारको कार्य भएन । बरु भारततिरै धपाउने काम भयो । बिभिन्न उद्योग तथा कम्पनीहरु समेत बन्द भएका र मालीकले घर तिर जान भनेपछि आफ्नो घर र परिवारसंग बस्ने उद्धेश्यका साथ आएका हजारौ नेपालीहरु अहिले पनि सिमानाहरुका गर्मिको धुपसंग लडिरहेका छन् । कोरोना भन्दा ठूलो पिडा सहेर बसेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिक नचिन्ने अमानवीय हर्कतले सरकारको असली चरित्र उदाङ्गिएको छ ।
देशका कैयौं परियोजनाहरु र बिकासका कार्यमा काम गर्ने र शहरमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु सबै काम रोकिएपछि दैनिक जीवन धान्न मुस्किल भएर आफ्नो घर जान खोज्दा त्यसको बन्दोबस्त गराइएन । बाध्यताको कारणले हप्तौ पैदल हिडेर भोकै प्यासै घर गए । त्यसको बारेमा चिन्ता गरिएन । अहिले बल्ल कतिपय मन्त्री र सांसदको पहुँच पुग्नेहरुलाइ घर पठाउने गरिएको छ । भारतका कैयौं शहरहरुमा अहिलेपनि लाखौं नेपालीहरु रहेका छन् । बिसौ हजारको संख्यामा भारतीयहरु संक्रमित भएका समाचारहरु आइरहेका छन् । त्यहाँ भएका नेपालीहरुको अवस्थाको बारेमा कुनै समाचार आइरहेको छैन् । खाडी राष्ट्रहरुमा पनि कैयौं नेपालीहरु कोरोना संक्रमित भएको र केहि संख्यामा मृत्यु भएका समाचार आइरहेका छन् । बेलायत र अमेरिकामा मात्र २० जना भन्दा बढी नेपालीको मृत्यु भएको जनाइएको छ । यसरी हेर्दा संसारभर रहेका नेपालीको अवस्थाबारे आधिकारिक स्थिती कस्तो छ ? कहाँ कहाँ कति नेपली संक्रमित भए वा स्वास्थ्य स्थिती के कस्तो छ ? उनीहरुलाई कसरी उपचारको ब्यबस्था गर्ने ? देशभित्र आउन चाहेकालाइ कसरी सुरक्षित ल्याउन सकिन्छ ? भन्ने कुरा राज्यले सोच्नुपर्दछ । त्यसको लागि प्रभाबकारी संयन्त्र बनाएर अध्ययन गर्ने र समस्यामा परेकालाई तत्काल उद्धार र राहतको ब्यवस्था गर्नुपर्दछ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले अष्ट्रेलिया पुगेको एक बर्ष नबिताएका बिधार्थी र तिनका आश्रीतहरुलाइ आफ्नो देश फर्कन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरुलाई फिर्ता नलग्ने देश बिरुद्ध नाकाबन्दी लगाउने घोषणा गरेका छन् । यहि अप्रील २१ मा उनले २ महिनाको लागी भनेर भिसा प्रक्रिया र डिभी बन्द गरेका छन् । उनले आप्रवासीहरु बिरुद्ध अनुदारको निती पहिलेदेखि लिएका थिए । कतार, मलेशिया, दुबई जस्ता देशहरुले पनि बिदेशी नागरिकहरुलाई उदार भएर हेरेको पाइदैन । नेपाल लगाएतका बिकासोन्मुख देशबाट युरोप अमेरिका जस्ता देशमा गएर काम गर्नै आप्रबाशीहरु आइएलओको परिभाषा अनुसार अनौपचारिक कामदार हुन्छन् र उनीहरुको रोजगारदातासंग लिखित नियुक्तिपत्र वा औपचारिक करारनामा हुँदैन । त्यसैले कतिपय देशहरुले घोषणा गरेका राहत र उद्धारका प्याकेजमा सहुलियत प्राप्त गर्न उनीहरुलाई कठिनायी हुन्छ । अहिले कैयौं बिदेशमा रहेका नेपालीहरु सहाराबिहिन भएका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकहरुलाई कुटनैतिक नियोगहरु परिचालन गरेर तत्काल उद्धार गरिनु आवश्यक छ । सजिलोको समयमा बिदेशमा रहेका नेपालीहरुको रगत र पसिनाबाट प्राप्त रेमिटेन्समा मस्ति गर्ने तर अफ्ठ्यारोको बेला वास्ता नगर्ने कार्य घोर अमानवीय कार्य हो ।
देशमा कैयौं सम्भावनाहरुको अध्ययन बिकास गरि रोजगारीका क्षेत्र पहिचान गर्ने र अवसर श्रृजना गरि युवाहरुलाई देशमै बस्ने बातावरण बनाउनु पर्दछ । शाषकहरुको सधैभरिको सत्ता राजनितीको लुछाचुडी र भ्रष्ट चरित्रको कारण नेपालमा सम्भावना नदेखी लाखौं नेपाली युवाहरु बिदेशी पुजीबादी र साम्राज्यबादी देशहरुको सेवा गर्ने र रक्षा गर्ने खेताला बनाइएको छ । बिदशमा रगत र पसिना बगाएर नेपालको अर्थतन्त्र धान्दा वाह ! भनियो । तर यस्तो प्रकारको बिपत्ति आउँदा उनीहरुलाई देशभित्रै ब्यवस्थापन गर्ने कुरा सोचिएन भने पुनः इतिहासले धिक्कार्ने छ । अहिले पनि नेपालमा कतिपय पूराना नयाँ बिश्वबिधालयहरु छन् , मेडिकल कलेज र अनुसन्धान केन्द्रहरु पनि छन् । तर उनीहरुले देशको लागि अध्ययन अनुसन्धानमा लाग्ने र नागरिक प्रतिको दायीत्व पुरा गर्ने भन्दा पनि नीजि स्वार्थ र बिदेशी डलर एजेन्सीहरुको इन्ट्रेस्ट पुरा गर्ने प्रकारले काम गरेको पाइन्छ । उनीहरुले बिदेशीहरुकै डिजाइनमा रहेर कैयौं अनुत्पादक जनशक्ति निर्माण गर्ने र रोजगारबिहीन बनाएर अलपत्र पार्ने काम गरिरहेका छन् ।
नेपालको कृषि प्रणाली, उद्योगधन्दा र रोजगारीका सम्भावनाहरुलाई सखाप पार्न बिदेशी दातृ निकायहरुले कैयौं एनजिओ आइएनजिओहरुको मार्फत युवाहरुलाई गलत सन्देश दिदै आएका छन् । सरकारी निकायले समेत त्यस्तै संस्थाहरुलाइ प्रोत्साहित गर्ने गरिरहेका छन् । यदि राज्य संयन्त्र लागेर युवाहरुलाई देशमा अवसर दिने प्रकारका कार्यक्रम ल्याउने हो भने कुनै युवाहरु घर छोडेर बिदेशी भूमिमा दुःख पाउन कदापी जादैनन् । अहिले पूर्ण बहुमतको सरकार छ । सरकारले चाहेमा उत्तिबेलै जस्तो निर्णय पनि गर्न सक्छ । यस्तो महामारीको बेला यो पनि एउटा अवसर हो । तर सरकार अन्य काममा ध्यान दिदै आएको देखिन्छ । जस्तो कि सरकारले भर्खरै एकैदिनमा निर्णय गरेर बेमौषमी संबैधानिक परिषद र दल सम्बन्धी अध्यादेश जारी गर्यो । यसरी हेर्दा सरकार खास योजनामा चिन्तित भएको देखिदैन । यसले आफ्नो बिश्वास गुमाउदै गएको छ । यसले गर्दा भबिश्यमा झन अस्थिरता र अराजकताको स्थिती श्रृजना हुन सक्छ ।
कोरोनाको महामारी सकिएपछि संसारको स्वरुप, सम्बन्ध र रोजगारीका प्रणालीहरु पनि परिबर्तित होलान् । त्यस्तो अवस्थामा अहिले नेपाल आइसकेका र पछि नेपाल आउने युवाहरु साथै देशभित्रै रहिआएका युवाहरुको भविश्य संग राज्यको भबिश्य र समृद्धि जोडिएको छ । युवाहरुले आफ्नो माटोमा श्रम गरेर खान थालेपछि युरोप, अमेरिका, अरब वा ठूला हाकिम कर्मचारीको सपना पनि देख्दैनन् र राज्य प्रणालीको सुदृढिकरणमा टेवा पुग्छ । राष्ट्रिय अर्थतन्त्रको बिकास हुन्छ । ठूलाठूला महामारी र बिपत्तिहरुको समयमा आत्मनिर्भर भई चुनौतिको सामना गर्न सकिन्छ । त्यसले राज्यले आफ्ना नागरिक चिनोस, आफ्नो ब्यबहार परिबर्तन गरोस् र आफ्ना नागरिकहरुको उचित संरक्षण ब्यवस्थापन गरोस् ।।।
लेखकः अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ६ : ५४ बजे