६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

समाजवाद उन्मुख राज्य व्यवस्था छ, वर्गीय विभेदको खाडल अवश्य पुरिन्छः मुख्यमन्त्री



बुटवल ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘मे’ दिवसका अवसरमा नेपाली श्रमिकहरुलाई शुभकामना सन्देश जारी गर्नुभएको छ ।

शुक्रबार मुख्यमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव रहेको बताउनुभएको छ । उहाँले श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न सरकार दृढ संकल्पित रहेको उल्लेख गर्दै श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य रहेको बताउनुभएको छ ।

मुख्यमन्त्रीको सन्देशमा तीन तहका जननिर्वाचित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल रहेको तथा सरकारले श्रमिक वर्गको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको उल्लेख गर्नुुुभएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुने सन्देशमा बिश्वास गरिएको छ । बिगत २००७, २०४६ र २०६२÷०६३ मा भएका आन्दोलनमा नेपाली श्रमिक वर्गको सहभागिता र बलिदान अविस्मरणीय रहेको सन्देशमा स्मरण गर्दै आन्दोलनको परिणामले प्राप्त नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवाद उन्मुख राज्य व्यवस्थाको स्थापना गरेको स्पष्ट पार्नुभएको छ ।

‘संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख राज्य व्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ’, सन्देशमा लेखिएको छ ।

मुख्यमन्त्रीलको सन्देशमा भनिएको छ ‘यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । अहिलेसम्म हामी सुरक्षित छौं तर जोखिमबाट मुक्त छैनौं’ ।

उहाँले शुभकामना सन्देशमा लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको सरकारले बुझेको उल्लेख गर्दै कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था नआउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको मुख्यमन्त्रीको दाबी छ ।

उहाँले सन्देशको अन्त्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न सबैलाई अपील समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ९ : २५ बजे