३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

नेपाली सेनाले भन्छः चीनबाट समयमै स्वास्थ्य सामग्री ल्याउन सकिन्न



काठमाडौं ।
नेपाली सेनाले सम्झौताबमोजिमको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसक्ने भएको छ। सेनाले चीनबाट कोरोनासम्बन्त्री मेडिकल सामग्री मे ५ तारिखसम्म ल्याइसक्ने सम्झौता गरेको थियो। चीनमा मे १ देखि ५ तारिखसम्म सार्वजनिक बिदा भएका कारण ग्वान्जाउ विमानस्थलमा काम गर्न नसकिने भएपछि समयमै सामग्री ल्याउन नसकिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

नेपालमा ढिलोमा मे १३ तारिखसम्ममा स्वास्थ्य सामग्री आइसक्ने उनले जानकारी दिए। चीनबाट नक्कली सामान गइरहेको भन्ने भएपछि अप्रिल १० तारिखबाट पूर्ण रूपमा स्वास्थ्य सामग्री गुणस्तरयुक्त छ कि छैन भनेर परीक्षण गरेर मात्र पठाउने भएकोले राम्रो सामान आउनेमा उनले विश्वास व्यक्त गरे। उनका अनुसार भन्सारमा सामानको परीक्षण गर्न ७२ घन्टा लाग्छ।

चीनबाट अन्य देशमा सामग्री गइरहेकोले पनि केही प्राविधिक कारणले ढिलो हुनसक्ने उनले जानकारी दिए। ‘चीनबाट सामान पठाउनका लागि नेपाल ८१ औँ स्थानमा परेको छ,’ उनले भने। स्वास्थ्य सामग्री ल्याउनको लागि ग्वान्जाउ विमानस्थलमा हवाई ट्राफिक जाम भएकोले अर्को विमानस्थलको खोजी भइरहेको पनि उनले बताए।

प्रकाशित मिति : २२ बैशाख २०७७ सोमबार ००:००  ६ : ४२ बजे