८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्यूठानका किसानलाई मकै रोप्ने चटारो



प्यूठान ।
प्युठानका किसानले मकै रोप्न शुरु गरेका छन्। केही समयअघि गहुँ भित्र्याएका यस क्षेत्रका किसानले अहिले मकै रोप्न थालेका हुन्। लकडाउनका समयमा सरकारले परिवारको सहभागितामा अन्नबाली भित्र्याउन र लगाउन छुट दिएसँगै जिल्लाका किसान खेती लगाउन व्यस्त भएका हुन्।

लकडाउनका कारण मकैको बीउ वितरण गर्न नसकिए पनि किसानले मकै छर्न शुरु गरेको ऐरावती गाउँपालिका कृषि शाखा प्रमुख सरोज घर्तीले बताए। पहाडी क्षेत्र भएकाले यहाँ मनकामना ३, देउती, शीतला, मनकामना ५ लगायत पोषिलो जातका मकै लगाइन्छ।

नौबहिनी गाउँपालिकाका केही क्षेत्रमा यसभन्दा पहिले नै मकै छरिए पनि अन्य स्थानीय तहमा यस समयमा छर्न शुरु गरिएको हो। आकाशे पानीमा निर्भर हुने हुनाले वैशाख पहिलो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै छर्ने समय रहेको शाखा प्रमुख घर्तीले बताए।

जिल्लाका किसानले परम्परागत साधन ९हलो० र आधुनिक प्रविधिको मिनिटिलरका माध्यममार्फत मकै रोप्न थालेका छन्। गोरु हलोको सट्टा किसान आधुनिक प्रविधितर्फ आकर्षित भएको प्युठान नगरपालिका –७ टिकुरीका पृथ्वी एग्रोभेट सेन्टरका सञ्चालक वासुदेव थापाले बताए।

मिनिटिलरमार्फत सहज र समयको समेत बचत हुने भएकाले यसबाटै मकै रोप्ने काम गरिएको मल्लरानी गाउँपालिका–४ कसेरीका किसान दामोदर शर्माले बताए। जिल्लाका नौ वटै स्थानीय तहका किसान पछिल्लो समय प्रविधिसँग जोडिएका छन्। रासस

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ४ : ५२ बजे