रेडियो   टिभी

सुन्तला खेतीमा जुट्न थाले युवा


पाल्पा ।
लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातको फलफूल खेतीमा जुट्न थालेका छन्। कोभिड –१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि बढेपछि यहाँका युवा सुन्तला, कागती र जुनार खेतीमा जुटेका हुन्।

जिल्ला सदरमुकाम तानसेन आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका युवा अहिले ग्रामीण क्षेत्रमा फर्केर सुन्तला, कागती, जुनारलगायत फलफूल खेती गर्न व्यस्त देखिएका छन्। रैनादेवी छहरा गाउँपालिका– ४, छहराका कमल घिमिरे असारसाउनमा रोपिने सुन्तला अहिले नै रोपिएको बताउँछन्। उनका अनुसार लकडाउन अवधिमा ६ सय सुन्तलाका बिरुवा रोपिएको छ। यस वर्ष वैशाखमा राम्रो वर्षा हुनाले पनि समय अगावै बिरुवा रोप्न अनुकूल भएको उनी बताउँछन्। वर्षा हुँदा किसानलाई खेती गर्न सहज भएको हो।

रिब्दीकोट गाउँपालिका वडा नम्बर ५ कुसुमखोलाका समर सुनार सुनचाँदी व्यवसायी हुन्। लकडाउनका कारण उहाँके सुनचाँदीको कारोवार बन्द छ। यस अवधिमा उहाँले सुन्तलाका बिरुवा रोप्न ५० भन्दा बढी खाल्डा खनेका छन्। उनी सुन्तलाको बिरुवा रोपेर आगामी वर्ष उत्पादन बढाउने योजनामा छन्। चैतवैशाख सुन्तला खेतीका लागि खाल्डा खन्ने र खाल्डामा मलको व्यवस्थापन गर्ने समय हो।

रैनादेवी– ५, मुझुङका नारायणबहादुर दर्नाल जिल्ला सदरमुकाम तानसेनमा सिलाइ व्यवसाय गर्छन्। लकडाउनको समय बढ्दै गएपछि उहाँले पनि अहिले नै ५० सुन्तलाका बिरुवा रोप्नका लागि खाल्डो खनेका छन्। उनी यस वर्ष लकडाउनका कारण सिलाइ व्यवसायबाट राम्रो आम्दानी हुन नहुने भएपछि आगामी वर्ष सुन्तला खेतीबाट प्रशस्त आम्दानी गर्न सकिनेमा ढुक्क छन्।

जिल्लाका सुन्तला मुख्य क्षेत्रका रुपमा परिचित रिब्दीकोट, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका किसानले एक सयदेखि हजारसम्मका सुन्तला रोपणका खाल्डा खनेर लकडाउनलाई अवसरका रुपमा बदलेका छन्। आगामी चारपाँच वर्षमा सुन्तला तथा कागती उत्पादन बढ्ने देखिएको किसानको जिकिर छ। रासस

प्रतिक्रिया दिनुहोस