८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण देखियो



काठमाडौं ।
कोरोनाबाट निको भएका तीन व्यक्तिमा पुनः संक्रमण देखिएको छ। काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय पुरुष र वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र अर्का एकजना भारतीय नागरिकमा पुनः संक्रमण देखिएको हो ।

नेपालमा निको भएका व्यक्तिमा फेरी संक्रमण देखिएको यो पहिलो घटना हो । सनसिटीका पुरुष गत चैत ५ गते आफ्ना श्रीमती र आमा सहित बेलायतबाट नेपाल आएका थिए ।

वैशाख १ गते र्यापिड टेस्ट गर्दा तीनै जनामा पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । पछि थप पिसिआर परीक्षण गर्दा आमा र छोराको पोजेटिभ र बुहारीको नेगेटिभ देखियो ।

५२ वर्षीय छोरा र उनकी ८२ वर्षीय आमा पनि १० दिनको अस्पताल बसाइपछि निको भएर घरमा थिए । पछि फलोअपमा उनीहरूको पुनः परीक्षण गर्दा छोरामा पोजेटिभ देखियो ।

रौतहटका १९ वर्षीय युवकमा पनि गत वैशाख १ गते पोजेटिभ देखिएपछि वीरगन्जको नारायणी अस्पताल भर्ना गरिएको थियो ।

उनीसँगै चारजना भारतीय नागरिकलाई अस्पतालले वैशाख १४ गते डिस्चार्ज गरेको थियो।

तीमध्ये उनीसँगै एक भारतीयमा १९ गते पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि नारायणी अस्पताल भर्ना गरिएको छ।

नेपालमा ८२ जना कोरोना संक्रमितमध्ये २२ जना निको भएकोमा तीन जनामा फेरी संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  १० : २९ बजे