२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

कोरोना संक्रमित २१७ पुगे, फेरि थपिए २६ जना



काठमाडौं ।
मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि हुनेको संख्या ८३ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन् । १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  १० : २७ बजे