५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कोरोना भाइरसः विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो



काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ ।

शुक्रबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट तीन लाख तीन हजार ६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ४९ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाको कारण विश्वभर ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ भने ९४ हजार ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । २५ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन् । जसमध्ये ४५ हजार ५ सय ६६ जना बिरामीको अवस्था गम्भीर छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ८६ हजार ८ सय ९२ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ५६ हजार नाघेको छ । हिजो एकै दिन त्यहाँ झण्डै २६ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी ब्राजिलमा बिहीबार ८ सय ३५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या झण्डै १४ हजार र संक्रमितको संख्या २ लाख नाघेको छ । संक्रमण फैलिने क्रम त्यहाँ तीब्र बनेको छ । हिजो एकै दिन त्यहाँ १३ हजार ७ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

बेलायतमा मृतकको संख्या ३३ हजार ६ सय १४ पुगेको छ भने इटालीमा ३१ हजार भन्दा धेरै, स्पेन र फ्रान्समा २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

बिहीबार स्पेनमा २१७, बेलायतमा ४२८, इटालीमा २६२, फ्रान्समा ३५१, क्यानाडामा १७०, मेक्सिकोमा २९४ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी भारतमा गएको २४ घण्टामा ९८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ ।

भारतमा बिहीबार एकै दिन ३ हजार ९ सय ४२ जना संक्रमित भएका छन् । अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् । भारतमा ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : १७ बजे