५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मलेसियामा १३ जना नेपालीले कोरोनालाई जिते



काठमाडौं ।
मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भएका छन् । मलेसियामा अहिलेसम्म ५५ जना नेपालीमा कोरोना सङ्क्रमण भएकोमा १३ जना निको भएर काममा फिरेका मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४२ जना पनि निको हुने चरणमा रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

यस्तै दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै कन्सुलर सेवा बन्द गरेको भए पनि अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ ।

पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको हो ।

यस्तै मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फर्कन इच्छा देखाएका र बाँकीले आफ्नो अवस्थासहितको विवरण टिपाएका राजदूत पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  २ : १५ बजे