५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुग्यो, ३६ जना निको भए



काठमाडौं ।

संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु भएको हो । मृतक युवक वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । ‘यसबारे थप विवरण आउन बाँकी छ । अहिलेलाई हाम्रो देशमा दुईवटा निधन कोभिड–१९ कै कारण भएको पुष्टि भएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भने ।

बाँकेको नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसेका दुई सय ६३ जनाको स्वाब शनिबार संकलन गरिएको थियो । मृतकका आफन्तले समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको बताएका छन् । कोरोनाकै कारण नरैनापुरमा युवकको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ नेपाली सेनालाईसमेत सुरक्षामा खटाइएको छ । उनको शवसमेत अहिले क्वारेन्टाइनमै रहेको छ । शव व्यवस्थापनको विषयमा छलफल भइरहेको बताइएको छ ।

गत बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाका कारण ज्यान गएको शनिबार मन्त्रालयले पुष्टि गरेको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ। ३६ जना भने निको भएका छन् ।

मन्त्रालयका प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म नेपालमा पीसीआर विधिबाट २८ हजार १ सय ६० जनाको परीक्षण भएको छ । त्यसैगरी आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्ले २४ घण्टामा पीसीआर विधिबाट एक हजार ४ सय ६९ र आरडीटी विधिबाट एक हजार २० जनाको नमुना परीक्षण गरिएको छ । देशभर अहिले १८ हजार तीन सय ५७ जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा ३५ र बाहिर ३३१ गरेर तीन सय ४६ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ५ : ०८ बजे