२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

राष्ट्रभक्ति गीत ‘आमा तिम्रो छातीको पाटो’ सार्वजनिक



थानेश्वर अधिकारी, चारनम्बर ।
नेपाल आमाको छातीमाथि छिमेकी मुलुक भारतले परेड खेलिरहेको बेलामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष तथा चर्चित सर्जक रमेश बि.जि.ले आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलवाटो वोलको गीत सार्वजनिक गर्नूभएको छ । नेपाल आमाको अस्मिता लुटिएको बेला छिमेकीले हाम्रो मातृभुमिको न्यानो काख लिपुलेक बाट मानसरोवर जाने बाटो खोलिरहदा हामी नतमस्तक छौं ।

नेपाल आमाले आफ्नो अस्तित्व रक्षाका लागि आफ्ना सन्तानसँग हार गुहार गरिरहेकी छन् । यस्तै यस्तै व्यथा र भावना रहेको बोकेर राष्ट्रिय भावनाले ओतप्रोत गीतमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको कलात्मक स्वर र संगीतले सिगारिएको यो गीत धेरै रहर लाग्दो बनेको छ । महिला तर्फ सुमधुर स्वरकी धनी शान्तिश्री परियारको स्वर रहेको छ । हेमन्त कान्छाले सारङ्गी र रत्न बिकले बाँसुरीमा मीठो धुन भरेका छन ।

मिराज अर्यालको छायाङ्कन एवं सम्पादन रहेको सरल शब्दहरुमा देशभक्तिको मार्मिक भाव अभिव्यक्त गरिएको यो गीतले साच्चै नै नेपाल आमाको बेदना पोखेको छ । भारतीय अतिक्रमणका कारण हाम्रो देशको सीमा दिन प्रतिदिन मिचिदै गैरहेको छ । पश्चिम दार्चुलाको लिम्पियाधुराबाट पूर्वताप्लेजुङसम्म दर्जनौँ स्थानहरुमा करिव ६१ हजार हेक्टर नेपाली भूमि लुटिएको छ ।

भारतसँग सीमा जोडिएका हाम्रा २६ जिल्लामध्ये २३ ओटा जिल्लाका विभिन्न स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । बिर पुर्खाहरुको रगत मसिनाले सिंचित हाम्रो देश नेपालको सिमाना पश्चिम किल्ला कागडा देखि पुर्वमा टिस्टा सम्म रहेको थियो ।

‘आमा तिम्रो छातीको पाटो’ गीतले दुष्ट छिमेकीको असली चेहरा उदाङ्गो पारिदिएको छ । गीतले नेपाली भुमी रक्षा गर्न र नेपाली आमाको अस्मिता जोगाउन सबै नेपालीहरुलाई एक जुट हुन आव्हान गरेको छ । सर्जक रमेश बि.जी.को शब्द चयन गीतमा उतार्ने शैली अत्यन्त उत्कृष्ठ भएका कारण गीत अत्यन्त सान्दर्भिक र सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ ।

थप गीत भिडियोबाट सुन्नुहोस

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  १० : ११ बजे