८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति



गुलरिया ।
बर्दिया, बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गरेका छन् । उनले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गरेका थिए । मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उनी निराश भएका छन् ।

बर्दियामा किसानले लगाएको वसन्ते मकै बालीमा फट्याङ्ग्राको प्रकोपले क्षति पुर्याएको छ । अधिकांश ठाउँका मकै बालीमा फट्याङ्ग्राले पात खाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बर्दियामा तीन हजार नौ सय हेक्टरमा वसन्ते मकै खेती गरिएको छ । लकडाउनका कारण औषधि नपाउँदा फट्याङ्ग्राको प्रकोप नियन्त्रण गर्न समस्या परेको छ । लकडाउनको कारण देखाउँदै कृषि प्राविधिक कार्यालय नै जाँदैनन् । लकडाउनकै कारण किसानको बारीसम्म पनि जान सक्ने अवस्थामा नरहेको बारबर्दिया, कृषि शाखाका नायब प्राविधिक सहायक राजेश वलीले बताए ।

किसानहरुको समूह बनाएर फेसबुक पेजमा जोडेर कृषि समस्याबारे जानकारी दिने गरिएको उनले बताए ।

मधुवन नगरपालिका वडा नं २ क्षेत्रमा मकैमा फटेङ्ग्राले बढी नै क्षति पुर्याएकाले किसानलाई विषादी छर्न सुझाव दिए पनि एग्रोभेट नखुलेका कारण समस्या भएको कृषि शाखाका प्राविधिक सहायक वलीले बताए । फटेङ्ग्राले मकैको सबै पात खाइदिएपछि उत्पादनमा ६० देखि ७० प्रतिशतसम्म घट्ने निश्चित रहेको मधुवन नगरपालिका, कृषि शाखाका प्राविधिक सहायक एकराज वलीले बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बर्दियामा मकै बालीमा फटेङ्ग्राको प्रकोप बढेको कुरा किसानले फोन गरेपछि थाहा भएको र फोनमार्फत नै मकैमा आएको समस्या समाधानबारे जानकारी गराइएको बताए । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  १२ : १४ बजे