१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना सङ्क्रमणमा ब्रजिलले इटली र स्पेनलाई उछिन्यो, राष्ट्रपति लकडाउनको विपक्षमा



बीबीसी नेपाली सेवा ।
साओ पाउलोको स्वास्थ्य प्रणाली दुई सातामा ध्वस्त हुने चेतावनी सहरका मेयरले दिएका छन्
स्पेन र इटलीलाई उछिन्दै ब्रजिल कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिस सङ्क्रमित हुने विश्वकै चौथो देश बन्न पुगेको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ७,९३८ जना नयाँ सङ्क्रमित भेटिएको जनाएको छ। यससँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ।

त्यो भन्दा धेरै सङ्क्रमित अमेरिका, रूस र ब्रिटेनमा मात्र छन्।

पछिल्लो २४ घन्टामा ब्रजिलमा ४८५ जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या १६,११८ पुगेको छ। कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने देशमा ब्रजिल पाँचौँमा पर्छ।

‘स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने’
विज्ञहरूले कोरोनाभाइरसको कम परीक्षणका कारण वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन्।

देशमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर साओ पाउलोका मेयरले आइतवार चेतावनी दिँदै भनेका छन्, ‘सहरको स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्छ।’

मेयर ब्रुनू कोभासले सहरका अस्पतालमा रहेका आपतकालीन शैयाहरू ९० प्रतिशत भरिएको र माग अझै बढिरहेको जानकारी दिए।

देशकै सबैभन्दा प्रभावित मध्येको सहर साओ पाउलोमा ३,००० जनाको ज्यान गइसकेको छ।

अस्पतालको क्षमता अपुग हुनुअघि सङ्क्रमणको गति रोक्ने प्रयास स्वरूप लकडाउन कडा तुल्याउने विषयमा राज्यका गभर्नरसँग वार्ताहरू गरिरहेको उनको भनाइ छ।

सहरको ठूलो जनसङ्ख्याले सामाजिक दूरीको नियम तोडिरहेको देखिएका बेला मेयरले नगरका बासिन्दाहरूलाई लकडाउनका नियम अवज्ञा गर्ने क्रियाकलाप रोक्न आग्रह गरेका छन्।

राष्ट्रपति किन लकडाउनको विपक्षमा?
बीबीसीकी एकजना संवाददाताका अनुसार मेयर कोभासले कोरोनाभाइरसले निम्त्याएको सङ्कटबाट जोगिने मौका बढाउने गरि काम गर्न सहरका बासिन्दालाई आग्रह गरेका छन्।

तर विश्वव्यापी रूपमा जारी गरिएको स्वास्थ्य सतर्कताको बेवास्ता गर्दै राष्ट्रपतिले एउटा अर्को आइतवार पनि आफ्ना समर्थक र बालबालिकासँग भेटघाट गरेर बिताए।

ब्रजिलका चरम दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारू लकडाउनको निरन्तर विरोधमा छन्।

कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न उनको सरकारले लिएको नीतिलाई लिएर देशभित्र र बाहिरबाट उनले चर्को आलोचना खेप्नु परेको छ।

बोल्सोनारूले ‘सामान्य फ्लु’ भन्दै कोभिड-१९ को विस्तार अपेक्षित रहेको बताउने गरेका छन्।

स्वास्थ्य विज्ञहरू परीक्षणको सीमितताका कारण आधिकारीक तथ्याङ्कभन्दा निकै धेरै सङ्क्रमित हुनसक्ने बताउँछन्। उनी लकडाउनका प्रतिबन्धहरू फकुवा गर्न माग गर्दै एप्रिल महिनामा आयोजित प्रदर्शनहरूमा सहभागी भएका थिए।

प्रतिबन्धहरूले देशको अर्थतन्त्र ध्वस्त पारिरहेको, बेरोजगारी र भोकमरी निम्त्याइरहेको उनको भनाइ छ।

व्यायामशाला र ब्युटिपार्लर पुनस् खोल्न दिने बोल्सोनारूको घोषणाको सार्वजनिक रूपमा आलोचना गरेका स्वास्थ्यमन्त्रीले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै गत साता राजीनामा दिएका थिए।

पूर्व रक्षामन्त्रीहरूको विरोध
ब्रजिलका पूर्व रक्षामन्त्रीहरूको एउटा समूहले विज्ञाप्ति जारी गर्दै सेनालाई सत्ता हातमा लिन राष्ट्रपतिका समर्थकहरूले गरेको आग्रहको निन्दा गरेको छ।

छजना पूर्वरक्षामन्त्रीले भनेका छन्स् त्यस्तो सन्देश ब्रजिलको सशस्त्र फौजको संवैधानिक भूमिकाको अपमान हो।

गत महिना राष्ट्रपति भवन बाहिर लकडाउन फिर्ता लिन माग गर्दै भएको साप्ताहिक प्रदर्शनमा बोल्सोनारू समेत सहभागी थिए।

प्रदर्शनमा सहभागी उनका केही समर्थकहरूले सैनिक ‘कू’ को माग गरिएका ब्यानर बोकेका थिए।

उनका समर्थकहरूले राष्ट्रिपतिको कदमबारे सर्वोच्च अदालत र संसद्‌को अनुसन्धान उनलाई शक्तिबाट हटाउने प्रयास स्वरूप भएको तर्क गर्छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  १ : ०५ बजे