१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

वाणगंगाका एम्बुलेन्स चालकका पीडाः मास्क धुँदै लगाउँदै, पिपिई, सेनिटाइजर आकाशको फल !



मायादेवी अनलाइन, चारनम्बर ।
विश्व कोरोना भाइरसले आक्रान्त भैरहेको बेला नेपाल पनि त्यसको मारमा पर्न थालेको छ । दिनहुँ संक्रमित थपिएको थपियै छन् भने क्वारेनटाइनमा बस्नेको संख्या उलेख्य बढीरहेको छ । सरकारले गत चैत्र ११ गतेदेखि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा लकडाउनलाई जारी राखेको छ । जसका कारण अत्यावश्यक वाहेक सवै सेवा बन्द छन् । कोरोनासंग अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी आ-आफ्नो क्षेत्रबाट जुधिरहेका छन् ।

यतिमात्र होइन विरामीलाई रातदिन बोक्दै अस्पतालसम्म लैजाने एम्बुलेन्स चालक यो बेला सरोकारवालाको नजरमा पर्न थालेका छन् । वाणगंगा नगरपालिका भित्रका एम्बुलेन्स चालकले मायादेवी अनलाइनसंग राखेको सामुहिक गुनासाले यो कुरा पुष्टि हुन्छ ।

अहिले एम्बुलेन्स चालकलाई एकछिन फुर्सद छैन । रातदिन अस्पतालमा विरामी दौडाइरहेका छन् ।

तर, कोरोनासंग बच्न प्रयोग गर्ने स्वास्थ्य सामग्रीको प्रयोग गर्नबाट टाढै छन, चालकहरु । आफुहरुले स्वास्थ्य सुरक्षा सामग्री विनै विरामी बोकिरहेको चालकहरु गुनासो गर्छन् ।

नगरमा संचालित ६ वटा एम्वुलेन्सका चालकहरुले आफ्नो पीडा कसैले नसुनेको भन्दै मायादेवीसंग गुनासो गरेका हुन् । पटक पटक वाणगंगा नगरपालिकामा आफ्ना समस्या राखेपनि कसैले नसुनेको उनीहरुले आरोप लगाए । ‘रातदिन विरामी बोक्न कहिले अस्पताल, कहिले क्वारेन्टाइनमा जानुपरेको छ, हामी उच्च जोखिममा छौं, पिपरा अस्पतालका एम्बुलेन्स चालक मधु वेल्वासेले भने, ‘ यो हाम्रो पीडा कल्ले सुन्दिने ।’

‘रातदिन दौडिरहेका छौं, हाम्रो पीडा सुनिदिने कोही भएन उनले अगाडि थपे, ‘ त्यति मात्र होइन, जहाँ गयो त्यही दुव्र्यवहारमा पर्छौं ।’

कपिलवस्तुका विरामी लिएर बुटवलका अस्पताल पुग्दा डाक्टरहरु डराउने गरेको अनुभव उनले सुनाए । बुधबार मात्रै बनगाईबाट डेलिभरी लिएर अस्पताल जादा त्यहाँका स्वास्थ्यकर्मी तथा विरामीका कुरुवाले हेयको दृष्टिकोणले हेरेको परिवारको भनाई उदृत गर्दै उनले जनाए ।

कपिलवस्तु जेसिजका एम्बुलेन्स चालक विष्णु भट्टराईले आफु रातभर नसुत्ने गरेको बताए । ‘विरामी लिएर बुटवल आएको छु, पानी खान पनि छैन, कुकुरको जस्तो व्यवहार हुन्छ, अवस्था बिजोग छ, टेलिफोनमा कुराकानीको क्रममा उनले भने, स्वास्थ्य सुरक्षा सामग्रीको त कुरै छोडौं । हामी नाङ्गै छौं, मास्क धुदै लगाउँदै गर्छौ, पिपिइ, सेनिटाइजर केही सामग्री छैन् ।’

अझ आफुहरु हेयको भावमा परेको पनि उनले सुनाए । ‘कपिलवस्तुका विरामी भनेपछि अस्पतालले लिनै छाँडे । आजभोलि कपिलवस्तुका विरामी भएपनि रुपन्देही भनेर अस्पताल लैजाने गरेको छु, उनले भने ।’

कोरोना लक्षणका विरामी र अन्य विरामीलाई एउटै एम्बुलेन्समा लिएर जाँदा आफुहरु नै उच्च जोखिममा रहेको एम्बुलेन्स चालकको गुनासो छ ।

‘क्वारेनटाइनमा बस्ने व्यक्ति र अन्य विरामीलाई फरक फरक गाडीमा बोक्ने व्यवस्था मिलाउन नगरपालिकासंग माग राखेका छौं, एम्बुलेन्स चालक संघका जिल्ला अध्यक्ष समेत रहेका वेल्वासेले भने, ‘हाम्रो माग नगरले सुन्दै सुनेन ।’

‘नगरभित्र ६ जना एम्बुलेन्स चालक छौं । पालैपालो विरामी बोक्छौ । भारतबाट हालै आएका व्यक्ति र सामान्य विरामी बोक्ने गाडी अलग अलग बनाउन नगरसंग आग्रह गरिरहेका छौ, उनले भने ।’

नेपाल रेडक्रस सोसाइटी गजेहडा वाणगंगा शाखाका चालक कमल घिमिरेले अत्यावश्यक स्वास्थ्य सामग्री पिपिई, सेनिटाइजर, ग्लोब्स, माक्स केही नभएको बताए । यसअघि सामुदायिक अस्पताल र कपिलवस्तु जेसिजले एकपटक पिपिई लगाएतका सामग्री उपलब्ध गराएपनि त्यसपछि कतैबाट केही नपाएको बताए ।

वाणगंगाबाट आश्वासन पाएपनि अहिलेसम्म स्वास्थ्य सामग्री पाएका छैनौं उनले भने ।

विगतमा संस्थाबाट पाएको एकथान पिपिई एक पटक प्रयोग गरी पुन प्रयोग गर्न नमिल्ने भएकाले आफुहरुसंग नभएको चालक घिमिरेले बताए ।

यता वाणगंगा नगरपालिकाका उप–प्रमुख चक्रपाणी अर्यालले भारतबाट विभिन्न नाकाबाट आएका नगरभित्रका व्यक्तिलाई छुट्टै गाडिको व्यवस्था गरेर ल्याएको बताए । उनले भने, ‘भारतबाट आएका व्यक्तिलाई एम्बुलेन्समा बोकेर ल्याइएको छैन ।’

एम्बुलेन्स चालकलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि नगरपालिकाले दिएको नगरप्रमुख अर्यालले दाबी गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ५ : ४५ बजे