२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सिद्धार्थको बिलिफ कार्यक्रमको नगरस्तरीय अभिमुखीकरण सम्पन्न



वाणगंगा ।
उत्थानशील समुदाय विकासको लागि जीविकोपार्जन तथा शिक्षा सबलीकरण परियोजना (बिलिफ) को नगरस्तरीय अभिमुखीकरण कार्यक्रम बिहिबार वाणगंगामा सम्पन्न भएको छ । वाणगंगा नगरपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रममा परियोजनाको विगतको ५ वर्षको अनुभव, सिकाई र उपलब्धीलाई समिक्षा गर्दै नगरपालिका अन्य वडामा कार्यक्रम विस्तार गरिएको संस्थाले बताएको छ ।
स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा वाणगंगा नगरपालिकाको समन्वयमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित विलिफ कार्यक्रमले नगरपालिकाका ३ वटा वडाका १९ सय घरधुरीलाई प्रत्यक्ष समेट्नेछ ।
सन् २०२४ देखि २०२८ सम्म संचालन गरिने बिलिफ परियोजना वाणगंगा नगरपालिकाको वडा न. ७, ८ र ९ मा लागु हुनेछ । परियोजनाले गुणस्तरीय समावेशी शिक्षा, मनोसामाजिक सहयोग, जीविकोपार्जन र रोजगारी तथा संस्थागत विकासका क्षेत्रहरुमा सहयोग गर्ने कार्यक्रमका प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले विगत ५ वर्षदेखि संचालन भएको सिड्स कार्यक्रमले किशोरकिशोरीहरुको सशक्तिकरणमा ठुलो टेवा पुगेको बताउनुभयो । उहाँले महिला, बालकालिका तथा किशोरकिशोरीमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुरयाएकोले आगामी दिनमा नगरपालिका सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरीले विपन्न, महिला सिमान्तकृत समुदायमा संचालित कार्यक्रमले नेतृत्व विकासमा सकारात्मक उपलब्धी हासिल गरेकाले नगरपालिका संस्थासंग मिलेर काम गर्न तयार भएको बताउनुभयो । उहाँले संस्थाले महिला बालबालिकाको क्षेत्रमा गरेको सहयोगको चर्चा समेत गर्नुभयो ।
नगरस्तरीय सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले संघसंस्थाहरु बढि प्रचारमुखी नभई व्यवहारमुखी हुनुपर्नेमा सुझाव दिनुभयो । उहाँले परियोजनाको सफल कार्यान्वयनको शुभकामना दिदै समन्वय, सहकार्य र सहअस्तित्वको अवधारणामा संघ संस्थासंग मिलेर काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ कार्यक्रम संयोजक आरटी खानले ५ वर्ष सम्म संचालित हुने कार्यक्रमले विपन्न, महिला तथा पछाडी पारिएका समुदायको आर्थिक, सामाजिक र रोजगारीको स्थितीमा सुधार ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पदाधिकारी, वडाअध्यक्षहरु, शाखा प्रमुखहरु, संघसंस्थाका प्रतिनिधी लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८१ शनिबार ००:००  ९ : २७ बजे