४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

वाणगंगा अपडेटः कोरोना संक्रमण नदेखिनु अघिसम्म वडाध्यक्ष बैठकमा सक्रिय थिए



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार वाणगंगामा एकै पटक ५ जनामा कोरोना देखिएपछि नगरपालिकामा दिउँसो बैठक बस्यो । बैठक बस्नुको एक मात्र उद्धेश्य थियो संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने र आम सर्वसाधारणलाई कोरोनाबाट बचाउन के कस्ता उपाय अपनाउने ।

शुक्रबार ५ जना संक्रमित थपिनु पूर्व नगरको वडा नं. ४ ठाकुरापुरस्थित एक ६ बर्षीया बालिकामा कोरोना देखिएको थियो । यद्यपि ती बालिका काठमाडौं उपचारको क्रममा रहेको र उतै कोरोना परिक्षण गर्दा देखिएकाले कहाँबाट कोरोना लाग्यो पत्ता लाग्न सकेको थिएन । यसो हुँदा वाणगंगा अलिकति ढुंक्क जस्तो देखिन्थ्यो । किनकि जिल्लाका अन्य स्थानीय तहमा कोरोना जसरी फैलिएको थियो वाणगंगामा त्यसरी फैलिसकेको थिएन ।

तरपनि ठाकुरापुरकी बालिकालाई कोरोना देखिए पछि भने कन्ट्याक्क ट्रेसिङको काम त्यहाँ भएको थियो । लगत्तै स्वाव संकलन गरेर सम्भावित खतरा देखिएका सबैको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको थियो ।

स्वाव पठाइए मध्ये २८ जनाको रिपोर्ट शुक्रबार आयो । जसमा ६ जना संक्रमित देखिए । जसमा एक जना कपिलवस्तु नगरपालिकाका थिए । उनले वाणगंगाबाटै स्वाव संकलन गरेको कारण वाणगंगाकै रिपोर्टमा उनी संक्रमित देखिएका थिए ।

एका-एक संक्रमित थपिएपछि शुक्रबार दिउँसो नगरपालिकामा सरोकारवालाहरुको आकस्मिक बैठक बसेर आवश्यक तयारीको काम थालेको थियो । सोहि बैठकमा संक्रमित वडाध्यक्षको पनि उपस्थिती रहेको थियो ।

शुक्रबारको छलफलमा सहभागी सशस्त्र प्रहरी बल पिपरा र इलाका प्रहरी कार्यालय पिपराका प्रमुखहरुले आफुहरुको स्वाब परिक्षण गर्नुपर्ने माग मायादेवी अनलाइनसंग गरेका छन् । शुक्रबारको बैठकमा सबैसंगै बसेको र लगत्तै कार्यलयमा आएर सबैसंग घुलमिल भएकाले संक्रमणको खतरा देखिएको नगरस्तरका सुरक्षा प्रमुखको चिन्ता छ ।

सशस्त्र प्रहरी बल पिपराका प्रमुख चन्द्र खत्रीले आफुहरुको तत्काल स्वाब संकलन गर्नुपर्ने देखिएको बताउनुभयो । ‘हिजो नगरको बैठकमा हामी पनि थियौं, त्यहाँ सबै वडाध्यक्ष लगायतका जनप्रतिनिधि हुनुहुन्थ्यो, दुःखको कुरा आज एक जना वडाध्यक्षलाई कोरोना देखिएछ, खत्रीले भन्नुभयो, ‘हाम्रो पनि स्वाब संकलन गर्नुपर्ने देखियो ।’

संक्रमण पुष्टि भएका वडाध्यक्षलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएकाले कसैलाई शंका नै थिएन । स्वयम वडाध्यक्षले स्वाब दिएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आउँला भन्ने साचेका थिएनन । एकाएक शनिबार विहान रिपोर्ट पोजेटिभ आएपछि सबैको कन्ट्याक्क ट्रेसिङ बढाउनुपर्ने देखिएको छ ।

कोरोना पुष्टि भएका मध्येको सबै भन्दा कठिन काम कन्ट्याक्क ट्रेसिङ हुने गरेको छ । अझ सामाजिक कार्यमा खटिएकाहरुलाई कोरोना देखियो भने झनै गाह्रो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन ।

संक्रमण पुष्टि भएका वडाध्यक्ष कोरोना देखिएसंगै ज्यानको प्रवाह नगरी फिल्डमा खटिएका थिए । आम नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै उनको खटाई फिल्डमा अति नै लोभलाग्दो रहेको थियो । सीमामा अलपत्र नागरिकको उद्धार देखि लकडाउनले पारेको प्रभावमा तड्पिएका गरिब, मजदुरलाई राहत वितरणमा उनको खटाई लोभलाग्दो थियो ।

पछिल्लो समय भारतबाट क्वारेनटाइनसम्म आउने नागरिकको खानपिन, बसाई र स्वास्थ्य चेकजाँचमा पनि उनको सक्रिय सहभागीता रहेको नगरपालिकाका सहकर्मी जनप्रतिनिधिले बताएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  १० : ३६ बजे