८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वाणगंगाले पठायो सबै कोरोना संक्रमितलाई बुटवल



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्र देखिएका कोरोना संक्रमितलाई वुटवल पठाएको छ । आइतबार अपराह्न ८ जना कोरोना संक्रमितलाई एम्बुलेन्सको माध्यमबाट वुटलवस्थित कोरोना अस्थायी अस्पतालमा पठाइएको नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

शनिबार राति नै दुई जना संक्रमितलाई बुटवल लगिए पनि ८ जना अझै जान पाएका थिएनन । यस क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीको पहलमा बुटवलस्थित एन्फा कम्पलेक्समा निर्माण भएको आइसोलेशन सेन्टरमा नगरभित्र भेटिएका १० जना कोरोना संक्रमितलाई व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो । एक जना संक्रमित सञ्चारकर्मीलाई भने तौलिहवा व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।

शुक्रबार र शनिबार गरेर नगरपालिका भित्र ११ जना संक्रमित भेटिएका थिए । नगरभित्र कोरोनाका संक्रमितलाई राख्ने आइसोलेशन सेन्टर हुन नसक्दा व्यवस्थापन गर्न कठिनाई भएको थियो । संक्रमित भेटिएको तीन दिन वित्न लाग्न पनि व्यवस्थापन गर्न नसकेको भन्दै नगरपालिका चर्को आलोचित बनेको थियो ।

नगरभित्र कुन स्थानमा आइसोलेशन निर्माण गर्ने भनेर स्थान खोज्न तत्लिन नगरपालिका बुटवलमा संक्रमित व्यवस्थापन गर्न सफल भएर आलोचनाबाट बचेको छ । नगरभित्र अबका केहि दिनमा आइसोलेशन सेन्टर बन्ने र थपिएका संक्रमितलाई त्यहि व्यवस्थापन गरिने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

नगरपालिकाले सिद्धार्थ क्याम्पसमै आइसोलेशन निर्माणको काम आजै देखि थालेको नगरपालिकाका प्रशासकीय अधिकृत केशवराज भट्टराईले बताउनुभयो । हाल सञ्चालनमा रहेको क्वारेनटाइन नजिकै रहेको सिद्धार्थ माविमा थप क्वारेनटाइन बनाएर क्याम्पस क्षेत्रमा आइसोलेशन सेन्टर बनाउने गृहकार्य थालिएको भट्टराईले बताउनुभयो ।

यता वडा नं. ४ मा भेटिएकी ८ बर्षीया कोरोना संक्रमित बालिकालाई पनि बुटवल पठाइएको वडाध्यक्ष गशेण क्षेत्रीले जानकारी दिनुभयो । बालिकालाई सबैभन्दा बढी व्यवस्थापनमा समस्या भैरहेको बेला एक जना अभिभावकको साथमा बुटवल आइसोलेशनमा पठाइएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ४ : ३७ बजे