१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सरकारलाई मेयर शाहको प्रश्नः कोरोना जाँच गर्ने किट छैन, जनताको ज्यान कसरी जोगाउने ?



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कोरोना भाइरसबाट जनता जोगाउन संवेदनशिल बन्नुपर्ने बेला आएको बताउनुभएको छ । तराईमा कोरोनाको संक्रमण दरमा बृद्धि भैरहे पनि यसको नियन्त्रणमा केन्द्र र प्रदेश सरकारले कुनै तत्परता नदेखाएको नगर प्रमुख शाहको गुनासो छ ।

आइतबार साँझपख सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगर प्रमुख शाहले एक महिनादेखि क्वारेन्टाइनमा बसेका हजारौं नेपालीको कोरोना टेस्ट नभएको बताउनुभएको छ । टेष्ट नहुँदा कोरोना भए नभएको केहि थाहा नभएको र उनीहरु क्वारेनटाइनमा बस्न बाध्य हुँदा घरको सबै काम लथालिङ्ग भएको बताउनुभयो । खेतीको बेला काम गर्न नपाउँदा भाविष्यमा भोकमरी आउने स्थितीको ख्याल गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

जनता बाँचे मात्र राजनीति गर्ने हो भन्दै उहाँले कोरोना प्रति संवेदनशिल बन्न सरकारलाई नगर प्रमुख शाहले आग्रह गर्नुभएको छ । यो बेला सरकारको मुख्य ध्येय कोरोना संक्रमणबाट नागरिक बचाउनु रहेको भन्दै फरक मुद्धामा नलाग्न सरकारलाई आग्रह गर्नुभएको छ ।

कोरोना परिक्षणका लागि पिसीआर कीट किन्न चाहेको तर प्रयोगशाला र प्रविधि दुवैको सहयोग हुन नसक्ने स्थितीमा गुज्रिन आफुहरु विवश बनेको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको स्टाटस यस्तो छ ।
नेपाली जनता कोरोना कहरले त्रसित छ । खासगरी तराईमा जनघनत्व बढी भएकाले यहांका स्थानीय तहमा संक्रमण बढी देखिएको छ तर संघ र प्रदेश दुवैसंग एक महिनादेखि क्वारेन्टाइनमा बसेका हजारौं नेपालीको टेस्ट, आइसोलेसन, क्वारेन्टाइन, प्रविधिक व्यवस्थापन गर्ने कुनै तर्खरता छैन । हामी पिसिआर कीट किन्न चाहेका छौं तर प्रयोगशाला र प्रविधि दुवैको सहयोग हुन नसक्ने आवस्थामा हामी तराईबासी त्रासमा छौं, टेस्ट नभएका मध्ये धेरैको घरमा खेती गर्ने समय, बीउ देखि लिएर खादसम्मको पर निर्भरता छ, घर जान नपाएर दशगजादेखि क्वारेन्टाइनसम्म का नेपालीका बालबच्चा भाविष्यमा भोकै बस्ने आवस्था आउन सक्छ । त्यस बारेमा सोच्न नसकेको सरकार अर्का अर्का मुद्दामा भ्रमित हुनु भन्दा संक्रमणबाट जनताको ज्यान जोगाउन संवेदनशील बन्ने आवस्था आएको छ । जनता बांचेपछि राजनिति गर्ने हो, जनसमुदायको आवश्यकता अकांक्षा हामी पुर्ण गर्न सकेनौ भने भोलि कुन मुखले राजनीतिमा उत्रिने हो ?

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ५१ बजे