१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आरडिटीकै भरमा घर पठाएका छैनौं, १५ दिन पछि पुनः पिसीआर गराएका छौंः मेयर अधिकारी



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरभित्र ६ सय जना क्वारेनटाइनमा रहेको बताउनुभएको छ । भारतका विभिन्न शहरबाट आएकाहरु गरेर नगरले स्थापना गरेका विभिन्न क्वारेनटाइनमा ६ सय जना रहेको बताउनुभयो ।

मायादेवी अनलाइनसंग सोमबार कुराकानी गर्दै नगर प्रमुख अधिकारीले क्वारेनटाइन भित्र रहेका सबैको आरडिटी भैरहेको बताउनुभयो । ‘अहिले धमाधम आरडिटी गराईरहेका छौं, उहाँले मायादेवीसंग भन्नुभयो, ‘आरडिटीमा पोजेटिभ र नेगेटिभ देखाएकालाई छुट्टा छुट्टै राखेर कोरोना नियन्त्रणको प्रयास थालेका छौं ।’

सबैलाई एउटै भवनभित्र राख्दा क्वारेनटाइनबाटै कोरोना फैलन सक्ने खतराबाट बचाउन पहिलो चरणमा आरडिटी गराएको उहाँले बताउनुभयो ।

आरडिटी गरापछि कतिपय स्थानीय तहले घर पठाएका खबरहरु छन नि ? भन्ने प्रश्नमा उहाँले शिवराजमा त्यसो नगरिएको प्रष्ट पार्नुभयो । आरडिटीबाट कोरोना पोजेटिभ देखिएकालाई तत्काल पिसीआर गरिएको र नेगेटिभ देखिएकालाई १५ दिन पछि पुनः पिसीआर गर्ने गरिएको उहाँले बताउनुभयो ।

‘आरडिटीकै भरमा घर पठाउने काम हामीले पटक्कै गरेका छैनौं । आरडिटी भर्खर क्वारेनटाइनमा आएर बस्नेहरुका लागि गराएका हौं । किनभने क्वारेनटाइनमा बस्नेहरुको संख्या बढेको बढै छ । कोरोना भएका, नभएका पहिला पत्ता लाग्दैन । फरक फरक राख्ने ठाउँ छैन । त्यसो हुँदा क्वारेनटाइनबाटै थप कोरोना फैलन सक्ने अवस्थालाई मध्यनजर गरेर आरडिटी गरेका हौं, उहाँले भन्नुभयो, ‘डब्लुएचओले भने अनुसार १५ दिन क्वारेनटाइनमा बसेकाहरुलाई पिसीआर गरेपछि मात्र घरमा पठाउने गरेका छौं ।’

नगरपालिकाले विगत छाला फेक्ट्रि रहेको स्थानमा सञ्चालित रिपोर्टमा ४८ बेडको आइसोलेशन सेन्टर बनाएको नगर प्रमुख अधिकारीले बताउनुभयो । सोमबार थपिएका तीन जना कोरोना संक्रमितलाई त्यहि राख्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

केहि दिनमा नगरपालिकाले कोरोनाका विरामी बोक्नका लागि दुई एम्बुलेन्स खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो । नगरको आफ्नो एम्बुलेन्स नहुँदा अरुले कोरोना संक्रमित बोक्न हिचकिचाएको कारण नगरले नै एम्बुलेन्स किन्ने तयारी गरेको बताउनुभयो । साथै नगरपालिकाले तत्काल एउटा दमकलका लागि प्रक्रिया बढाएको पनि बताउनुभयो । केहि दिनमा नगरपालिकामा दमकल आउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ३ : ०२ बजे