१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

स्थानीय सरकार प्रमुखको गुनासोः संघ र प्रदेशले खाली आदेश मात्र दियो, ठोस सहयोग गरेन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर बढे पछि आइसोलेशन बेडको संख्या एक हजार पुर्‍याइने भएको छ । आइतबार साँझसम्म २ सय ७० संक्रमित भेटिएको जिल्लामा हाल ४ सय ९५ आइसोलेशन बेड संचालनमा रहेको छ । संक्रमित बढे पनि आवश्यक संख्यामा बेड नहुँदा समस्या परेको छ ।

जिल्ला प्रशासन कार्यालयमा पालिका प्रमुख, प्रदेश सदस्य, सुरक्षा निकायका प्रमुख, संचारकर्मीसहीत कोरोना महामारीको नियन्त्रण र रोकथामका बिषयमा राखिएको बैठकमा सो निर्णय गरिएको हो । हालसम्म जिल्लाका नौ पालिकामा रहेको आइसोलेशन सेन्टरमा ४ सय ९५ बेड रहेकामा त्यसमा थप ५ सय आइसोलेशन बेड थप्ने निर्णय भएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए ।

‘जिल्लामा संक्रमितहरु फेला पर्ने दरलाई हेरे पनि कम्तीमा एक हजार संक्रमित फेला पर्ने अनुमान गरेका छौँ, त्यही आधारमा आइसोलेशन बेड समेत एक हजार पुर्‍याइने निर्णय गरिएको हो ।’ उनले भने ।

आइसोलेशन सेन्टर तथा क्वारेन्टाइनको संचालन र ब्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ । संक्रमितहरुलाई नियमित चेकजाँच र हेर्न जिल्लाका पाँच डाक्टरलाई समेत खटाईने छ । कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकालाई डाक्टर गणेश क्षेत्री, कृष्णनगर, महराजगंजलाई डाक्टर प्रशान्त द्धिबेदी, शिवराज र बिजयनगरमा डाक्टर बेद प्रसाद चौधरी खटिने छन ।

यस्तै बाणगंगा र बुद्धभूमिमा डाक्टर रंजीता महतो तथा मायादेवी र शुद्धोदनमा डाक्टर गंगाराम यादवलाई हेर्ने गरी जिम्मा दिईएको छ ।

उता कोरोना अस्पतालको निर्माका लागि पिपरा अस्पताललाई छनौट गरी यथाशीघ्र संचालनका लागि संघ र प्रदेश सरकारलाई आग्रह गर्ने समेत निर्णय गरिएको छ । महराजगंजमा १ सय ६९, यशोधरामा १ सय २४ कपिलवस्तु नगरपालिकामा ५५, मायादेवीमा १७, शुद्धोदनमा १५, बिजयनगरमा २५, शिवराजमा २०, कृष्णनगरमा ४०, बाणगंगामा ३० आइसोलेशन बेड छन । आईसोलेशन र क्वारेन्टीनलाई मापदण्ड अनुसार संचालन गर्नुपर्नेमा जोड दिइएको थियो ।

यस्तै धानको बीउ खरिदका लागि समेत ध्यान दिई कृषकहरुलाई छुट दिनु पर्ने, बाँकी अवधिका लागि नदीबाट नदीजन्य पदार्थ समेत उठाउन दिनु पर्ने लगायतका सुझाव दिइएको थियो । पालिका प्रमुखहरुले कोरोना नियन्त्रण र रोकथाममा संघ र प्रदेशले खाली आदेश मात्र दिने तर ठोस सहयोग नगरेको गुनासो गरे ।

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले संघ र प्रदेश सरकारले पालिकाहरुलाई कोरोनाका बिषयमा एकलौटी जिम्मेदारी दिएर आफुहरु उम्केको गुनासो गरे । ‘प्रदेश सरकारले नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख दिएको छ, त्यसले के नै हुन्छ, उनले भने ।’

पिसीआरको किट अभाव र स्वाब संकलनको रिपोर्ट समेत समयमा नआउँदा आफुहरु समस्यामा परेको उनले गुनासो गरे । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ, शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी, बाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारु, मायादेवी गाउपालिका प्रमुख बजरंगी प्रसाद कुर्मी, बिजयनगर गाउँपालिका प्रमुख गोपाल थापाले पालिकाहरुलाई संघ र प्रदेशले ठोस सहयोग गर्नुपर्ने माग गरे ।

प्रदेश सदस्य बिष्णु पन्थी, अर्जुन केसी, रिना नेपालले कोरोना महामारीको रोकथाममा आफुहरुको समेत साथ रहेको बताए । कपिलवस्तुमा २ सय ७० जना संक्रमित भेटिएका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ८ : १६ बजे