४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

कोरोना संगसंगै देशका २६ जिल्लामा डेंङ्गी फैलियो, ८२ जनामा संक्रमण




काठमाडौं ।

गर्मी बढेसँगै नेपालमा डेंङ्गी, मलेरिया लगायत रोगको जोखिम बढेको छ ।आज स्वास्थ्य मन्त्रालयको निममित पत्रकार सम्मेलनमा उपस्थित भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले डेंङ्गी र मलेरिया संक्रमणको विषयमा जानकारी गराउनु भएको हो ।

यो समयमा कोभिड १९ सँगसँगै नेपालमा अन्य रोगको संक्रमण पनि फैलन सक्ने भन्दै उहाँले सचेत रहन आग्रह गर्नुभएको छ ।वर्खा लागिसकेकाले यो समयमा घर अथवा क्वारेन्टाइनमा बस्दा वा कामको शिलशिलामा बाहिरफेर निस्कदा कोभिड १९ बाहेक अन्य खालका सरुवा रोगको उच्च जोखिम रहेको निर्देशक पाण्डेको भनाइ छ ।

यो समयमा मुख्यगरी डेंङ्गी, मलेरिया, सर्पदंश तथा झाडापखाला लगायतका लाग्नसक्ने भन्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो ।गएको वर्ष नेपालमा महामारीको रुपमा डेंङ्गी फैलिएको थियो । ६८ जिल्लामा फैलिएको डेंङ्गीबाट १६ हजार मानिस संक्रमित भएका थिए भने ६ जनाको मृत्यु समेत भएको थियो ।

नेपालमा पहिलो पटक १६ वर्ष अघि सन् २००४ मा डेंगी देखिएको थियो । हरेक वर्ष विभिन्न ठाउँमा यसको प्रकोप देखिने गर्छ । हरेक ३/४ वर्षमा यो महामारीको रुपमा फैलने गरेको छ ।निर्देशक पाण्डेका अनुसार यो रोगका बिरामी वैशाखदेखि मंसिर महिनासम्म देखिने गरेका छन् ।

यो वर्ष पनि विभिन्न जिल्लामा गएको पुषदेखि आजसम्म ८२ जनामा डेंङ्गीको संक्रमण देखिएको छ । २६ जिल्ला प्रभावित भएका छन् ।सबैभन्दा धेरै रुपन्देहीमा ३५ र म्याग्दीमा १२ जनामा संक्रमण देखिएको छ । मकवानपुर, गोरखा र तनहुमा १/१ जनामा संक्रमण देखिएको छ ।

कास्कीमा १०, काठमाडौंमा ७, नवलपरासीमा १, बाग्लुङमा २, ललितपुरमा ४, सुनसरीमा ४, पाल्पामा १, नवलपरासी पश्चिममा १, मोरङमा ३, कपिलवस्तुमा ३ तथा तेह्रथुममा २ जनामा डेंङ्गीको संक्रमण देखिएको छ । बाँके, डडेलधुरा, दाङ, झापा, रामेछाप र उदयपुरमा १/१ जना, नुवाकोट, कैलाली, धनकुटा र धादिङमा २/२ जनामा संक्रमण फैलिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

विश्वका विभिन्न देशमा यो रोगको संक्रमण फैलिरहेको भन्दै उहाँले विश्वको करिब आधा जनसंख्या यो रोगको जोखिममा रहेको जानकारी दिनुभयो । संक्रमित एडिस एजिप्टाई लामखुट्टेले टोकेमा डेंङ्गीको संक्रमण हुनसक्छ । यो लामखुट्टे छिर्केमिर्के रङ्गको केही ठूलो आकारको हुन्छ ।

लक्षणहरु
१. एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउने,
२. बेस्सरी ठाउँको दुख्ने, मांशपेशी तथा जोर्नी दुख्ने,
३. आँखाको गेडी दुख्ने
४. पेट तथा आन्द्रामा गडबडी आउने
५. अरुची हुने
६. डाबर आउने, आदी ।
यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ । विशेष हेरचाहका लागि अस्पताल भर्ना गर्नुपर्छ र चिकित्सकको सल्लाहबिना कुनैपनि औषधि सेवन गर्न हुँदैन ।
बच्ने उपाय : 
१. लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने,
२. यो लामखुट्टे मानिसको वस्ती वरीपरि प्राकृतिक वा कृतिम रुपमा जमेको पानीमा फुल पारेर वृद्धि विकास हुने भएकाले यसको लार्भा नष्ट गर्नुपर्छ,
३. दिउँसो सुत्दा पनि झुल लगाउनुपर्छ,
४. थोरै पानी जम्ने ठाउँमा पनि पानी जम्न नदिइकन सफा गर्नुपर्दछ, आदी ।

यो रोगको पनि राम्रो खोप नभएकाले संक्रमण हुनबाट बच्नु नै उत्तम उपाय भएको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ६ : २४ बजे