४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

लक डाउन खुकुलो हुँदै, होटल र रेष्टुरेन्टको एक टेबुलमा २ जनाभन्दा बढी बस्न नपाइने




काठमाण्डौँ ।
लक डाउनको सबैभन्दा मारमा परेका होटल तथा रेष्टुरेन्ट ब्यावसायीको समस्यालाई पनि मध्येनजर गरी लक डाउन केही खुकुलो हुने भएको छ । अरबौँ लगानी भएका होटल तथा रेष्टुरेन्ट अहिले चौपट भएपछि उनीहरुलाई केही सहजता होस् भन्नको लागि सरकारले यस्तो तयारी गर्न लागेको हो । सरकारले जेठ ३२ अघि नै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

यसमा रेष्टुरेन्ट तथा होटल ब्यावसायीको समस्यालाई पनि बुझ्ने प्रयास भइरहेको छ । सरकारी श्रोतका अनुसार होटल र रेष्टुरेन्टमा एक टेवलमा २ जनाभन्दा बढी बस्न पाउने छैनन् । त्यसमा नितान्त सामाजिक दुरी कायम हुनु पर्ने छ । तर सिधै पहिल्यै यो गर्न भने पाइने छैन । रेष्टुरेन्टहरुमा शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउनेछन् र अवस्था अनुसार सरकारले विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाइने छ ।

यस विषयमा छलफल भइरहेको छ । यसो गर्दा भीँडभाड देखिए तुरुन्त बन्द गर्ने गरी छलफल भइरहेको श्रोतले बतायो । काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ ।

उच्चस्तरीय समन्वय समितिले एक दुई दिनमै बैठक बसी विस्तारै जनजीवन खुलाउँदै सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने समिति सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले बताउनु भयो । लकडाउन हटाउन दबाब दिदै गर्दा महामारी नियन्त्रण बाहिर जाने खतरातर्फ पनि विचार गर्नुपर्ने उनले बताउनु भयो ।

कोरोनो संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ ।

स्रोतका अनुसार लकडाउन खुकुलो बनाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली अझै अनुदार देखिनु भएको पनि जनाइएको छ । पछिल्ला दिनमा कोरोना सांक्रमण तीब्र रुपमा बढिरहेको छ । तर विस्तारै कोरोनासँग जुधेर जनजीवन अघि बढाउनुको विकल्प नरहेको सरकारका मन्त्रीहरुको पनि बुझाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ८ : ३३ बजे