२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

तरकारी नष्ट गरिएकोप्रति कांग्रेस कपिलवस्तुको गम्भीर ध्यानाकर्षण



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० धनकौलीमा उत्पादित तरकारीमा कोरोना मिसिएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएको घटना प्रति कांग्रेस कपिलवस्तुले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

रामघाट तरकारी संकलन केन्द्र मार्फत अर्घाखाँचीका ब्यापारी रामकिशोर बानियाँले किनेर पुर्याएको तरकारी गत जेठ १८ गते त्यहाँको सिडिओको आदेशमा प्रहरीले डम्पिङ साईटमा फालेको थियो ।

पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको नेतृत्वमा गएको टोलीले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापनपत्र बुझाउँदै कठिन समयमा उत्पादन गरेका कृषकलाई प्रोत्साहन दिनुको साटो उल्टो नष्ट गरिदा आम कृषकमा निराशा छाएको बताए ।

सो कार्यको घार भर्सना गर्दै दोषी उपर कानुनी कारबाही तथा त्यसको उचित क्षतिपूर्तिको माग गरिएको छ । मागको सुनुवाई नभए कृषकहरुले जिल्लाका बिभिन्न नाका हुँदै अर्घाखाँची जाने अन्न तरकारी रोकेमा त्यसमा कांग्रेसको पनि एक्यबद्धता हुने जनाईएको छ ।

पार्टी सभापति आचार्यले तरकारीबाट कोरोना सर्छ भन्ने कुनै तथ्य प्रमाणहरु नभएको बेला एकतर्फीरुपमा गरिएको गैर जिम्मेवारी कार्यले सारा कपिलवस्तुबासीलाई दुखित तुल्याएको बताए ।

उता ज्ञापनपत्र बुझाउनसँगै गएका किसान संघका जिल्ला सभापति चुर्तभुजमणि त्रिपाठीले किसानको परिश्रम लगानीको अर्घाखाँची प्रशासनले अवमूल्यन गरेको र त्यसको तत्कालै क्षतिपूर्ति दिनु पर्ने माग गरे ।

प्रदेश सदस्य रिना नेपालले कोरोनाको बहननामा कपिलवस्तुका कृषकहरुको घोर अपमान गरिएकाले कृषकहरुलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग गरिन । रामघाट तरकारी संकलन केन्द्रका अध्यक्ष तथा धनकौलीका अगुवा कृषक बहराईची केवटले लकडाउनको मारमा परेको बेला १०÷१२ रुपैयाँ किलोका दरले बेचेको तरकारी पनि डम्पिङ साईटमा फालेको घटनाले आफुहरुलाई निकै दुःखी बनाएको बताए ।

उनले त्यसको क्षतिपूर्ति दिनु पर्ने माग गरे । ज्ञापनपत्रको बोधार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा समेत पठाईएको छ । ज्ञापनपत्र बुझाउने टोलीमा जिल्ला समन्वय समितिका सदस्य अनुप पाण्डेय, धनकौलीका कृषकहरु समेत थिए । उनीहरुले समेत प्रजिअ दीर्घनारायण पौडेललाई ज्ञापन पत्र बुझाएका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ८ : ३० बजे