१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगा १ को क्वारेन्टाइनमा योग तथा उत्प्रेरणात्मक कक्षा संचालन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका १ बाल मा.वि.क्वारेन्टाइन रहेका व्यक्तिलाई योग तथा उत्प्रेरणात्मक प्रशिक्षण मंगलबारदेखि संचालन गरिएको छ ।

वाणगंगा नगरपालिका वडा नम्बर १ को सहयोगमा क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिलाई योग तथा उत्प्रेरणात्मक प्रशिक्षण संचालन भएको हो । योग तथा ध्यानको माध्यमबाट व्यक्तिमा शारिरीक तथा मानसिक स्फूर्तिको साथै सकारात्मक उर्जा प्रदान गर्ने उद्देश्यले योग प्रशिक्षण संचालन भएको हो ।

योग तथा उत्प्रेरणात्मक प्रशिक्षण पिपरा अस्पतालका जनस्वास्थ्य निरीक्षक कुल प्रसाद पन्थी, वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखाका भक्तिराम पाण्डेले दिनुभएको थियो । कोरोना भाइरसबारे सावधानी अपनाउनु पर्ने र नियमित साबुन पानीले हातधुदा सुरक्षित हुने बताउदै प्रशिक्षक पन्थीले नकारात्मक सोचले क्षति गर्ने भएकाले सवैलाई धैर्य र सकारात्मक हुन आग्रह गर्नुभएको छ ।

बाल मा.वि.को क्वारेन्टाइनमा बस्दै आएका १३ जनालाई नियमित योग शिक्षा दिइनेछ । कोरोना महामारीका कारण भारतबाट आएका क्वारेन्टाइनमा बसेका वडावासीको सकारात्मक सोचको विकास र स्वस्थ रहनमा सहयोग पुग्ने विश्वास वडा नम्बर १ की वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारीले गर्नुभएको छ ।

कोरोना भाइरसबारे समुदायमा नकारात्मक र भ्रमहरु फैलिरहेका बेला यसबाट सुरक्षित रहन र सकारात्मक सोचको विकास गर्न योग, ध्यान, र उत्प्रेरणा आवश्यकता भएको समाजसेवी बुद्धिसागर वेल्वासेले बताउनुभयो ।

पछिल्लो समय विभिन्न स्थानीय तहले क्वारेन्टाइन र आइसुलेशनमा बसेका व्यक्तिलाई लक्षित गरी ध्यान, योग तथा मनोरञ्जनात्मक कृयाकलाप संचालन गर्दै आएको पाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ५ : ३८ बजे