२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

असार मसान्त अघि कर तिर्न सकिन्न, सरकारले जेजे गरोस्ः अध्यक्ष तिवारी



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले असार मसान्त अघि सरकारलाई कर तिर्न नसकिने प्रष्ट पार्नुभएको छ । कोरोना महामारीका कारण लामो समयसम्म लक डाउन भएर ब्यापारी ब्यवसायी धरासयी भएकाले असार मसान्त अघि कुनै हालतमा कर तिर्न सक्ने अवस्थामा नरहेको तिवारीले प्रष्ट्याउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले आइतबार विहान गरेको कोरोना विशेष संवादमा कुराकानी गर्दै उहाँले सरकारलाई परेको कठिन घडीमा नीजि क्षेत्रले जहिले पनि सहयोग गरेको अवस्थामा अहिले राज्यले आफूहरुमाथि उपेक्षा गरेकोप्रति चिन्ता ब्यक्त गर्नु भयो ।

“हामी असार ७ गते पनि कर तिर्न सक्दैनौँ, १५ गते पनि सक्दैनौँ, राज्यले यो कुरा कुनै पनि हालतमा मान्नै पर्छ ।” उहाँले थप जोड दिएर भन्नुभयो, ‘यदि सरकारले जर्वजस्त गर्यो र सच्चिएन भने ब्यवसाय लक गरेर लकडाउनको उलङ्घन गर्दै सडकमा जान हामी बाध्य हुन्छौं ।’
मन्त्री, नेता र कर्मचारीको अनावश्यक खर्च कटौति गर्न सरकारले हात कमाएको भन्दै त्यसको पुर्ति नीजि क्षेत्रले गर्नुपर्ने स्थिती आएको तिवारीको तर्क छ ।

महासंघका केन्द्रिय सदस्यसमेत रहनु भएका उहाँले भन्नुभयो, ‘कोरोनाको बेला मात्र नभएर हिजोको अन्य समस्याको बेला पनि हामीले राज्यलाई सहयोग गर्दै आइरहेका छौँ । यो कुरा राज्यले बुझ्नु पर्दछ ।’

सरकारले जेठ २५ गते सापटी खोजेरै भए पनि कर तिर्न भनेपछि यसको चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले असार ७ गतेसम्म समय बढाएको थियो ।

उद्योगी नेता समेत रहनु भएका उहाँले उद्योगी नेतृत्वले नै सामान्य र मझौला ब्यापारीको पक्षमा काम नगरेर समस्या भएको पनि स्विकार्नु भयो ।

‘अहिले ब्यवसायीको पक्षमा हाम्रा नेतृत्वले राम्रोसंग काम गर्न सकेनन्, स्वार्थी भए भन्ने जिल्ला नगरका साथीहरुको मत छ, यदि त्यसो हो भने त्यो राम्रो हुने छैन । जिल्ला नगरका साथीहरुले तिनलाई बाँकी राख्नुहुन्न उहाँले भन्नुभयो, ‘बदमासी गर्ने नेताहरुलाई आगामी महाधिबेशनमा हराइन्छ ।’

साथै उहाँले घर भाडा छुट र बैंकलाई तिर्नु पर्ने ब्याजमा पनि छुट गराउन आफूहरुले पहल गरिरहेको बताउनु भयो । ब्यापारी व्यवसायी अहिले निकै समस्यामा परेकाले राज्यले यसमा विशेष ध्यान दिनु पर्ने आवश्यक भएको पनि उहाँको भनाई छ । साना व्यापारीको माग अनुसार केही भए पनि घरभाडा छुट गराउन पनि पहल भइरहेकाले नआत्तिन उहाँले सबैलाई अनुरोध गर्नुभयो । देशलाई माथि उठाउन सामाजिक दुरी कायम गरी, मास्क लगाएर विशेष सावधानीका साथ अब विस्तारै सबै उद्योगधन्दा र व्यवसायहरु खुला गर्नुको विकल्प नभएको उहाँले बताउनु भयो । उहाँले अब सबै उद्योगी, ब्यापारी, बाणिज्य संगठनहरु एक भए अघि बढ्नु पर्ने बताउनु भयो । मायादेवी रेडियो र अनलाइनले उद्योगी ब्यापारीको पक्षमा निरन्तर खबरदारी गर्दै आइरहेको छ ।

उहाँसंग गरिएको पुरा कुराकानी सुन्न तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ५७ बजे