२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

११ महिनामा पुँजीगत खर्च ३० प्रतिशत, राजस्व सङ्कलन ५० प्रतिशत नाघ्यो



काठमाडौं ।
चालू आर्थिक वर्षको ११ महिनामा ३० प्रतिशत पुँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रकको कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्यांकअनुसार पुँजीगत खर्चमा कुल अनुमानित खर्चको ३०.१६ प्रतिशत खर्च भएको देखिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा विकास निर्माणका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ करोडको बजेट छुट्याएकोमा हालसम्म १ खर्ब २३ अर्ब ५ करोड ५ लाख बजेट खर्च भएको देखिन्छ । चालू खर्च (तलबभत्ता आदि) भने ६७ प्रतिशत भएको छ । चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकोमा मङ्गलबारसम्म ६७.१८ प्रतिशत अर्थात् ६ खर्ब ४२ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ खर्च भएको मनिकाको तथ्याङ्कले देखाएको छ ।

१ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बजेट वित्तीय व्यवस्था (सार्वजनिक संस्थानमार्फत पुँजी निर्माणमा हुने खर्चका लागि दिइने बजेट) तर्फ खर्च गर्ने लक्ष्य लिइएकोमा हालसम्म ८३ अर्ब ८६ करोड ८३ लाख (४९.९६ प्रतिशत) खर्च भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख कुल बजेट छुट्याएकोमा ११ महिनाको अवधिमा चालू, पुँजीगत र वित्तीय व्यवस्थापन गरी ५५.४४ प्रतिशत अर्थात् ८ खर्ब ४९ अर्ब ८५ करोड ८१ लाख खर्च भएको हो । गत माघको अन्तिम साता चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा ल्याएका थिए । सो समीक्षामा कुल बजेटको ९०.४ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।

चालू आर्थिक वर्षमा सरकारको राजस्व सङ्कलनको अवस्था ५० प्रतिशत नाघेको छ । ११ महिनाको अवधिमा लक्ष्यको ५७.४३ प्रतिशत आम्दानी भएको मनिकाले देखाएको छ । ११ खर्ब १२ अर्ब ३३ करोडको वार्षिक लक्ष्यमा हालसम्म ६ खर्ब ३८ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  ७ : २४ बजे