५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विजयनगरको आइसोलेसन बेडबाट थप ९ जनाले जिते कोरोना



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ जना कोरोना सङ्क्रमित उपचार पश्चात् विहीवार घर फर्केका छन् । गाउँपालिकाको आयुर्वेदिक अस्पताल पर्साेहियामा सञ्चालित आइसोलेसन सेन्टरमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको हो । जिल्ला अस्पतालका मे.सु डा. किशोर बन्जाडेले उनीहरुको स्वास्थ्य परिक्षणपछि घरमै एक हप्ता बस्ने गरी डिस्चार्ज गर्नुभएको छ ।

विहीबार ९ जना डिस्चार्ज भएसंगै गाउँपालिका भित्रका १३ जना संक्रमित पूर्ण रुपमा निको भएका छन् ।

यस्तै विजयनगरको आइसोलेसनमा बसेका ५ जना यसभन्दा अगाडी नै डिस्चार्ज भएका थिए । जसमा तीन जना गाउँपालिका भित्रका थिए भने बुद्धभूमि नगरपालिकाका दुई जना यसभन्दा अगाडी कोरोना जितेर घर फर्किएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो । विजयनगरको आइसोलेसन सेन्टरमा हाल १० जना कोरोना संक्रमित उपचाररत छन् ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराई र वडाध्यक्ष दिनेश कुमार चौधरीले विहीबार कोरोना जितेर घर फर्किन थालेका सबैलाई खादा ओढाउँदै बधाई दिनुभएको थियो । गाउँपालिका अध्यक्ष थापाले सबैलाई घरमै एक हप्तासम्म एकान्तवासमा सतर्कतापुर्वक बस्न अनुरोध गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : ५५ बजे