२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कटान आदेशभन्दा तेब्बर बढी काठ काट्ने वन अध्यक्ष र व्यवसायी धरौटीमा छुटे



पाल्पा ।
लकडाउनको मौका छोपी कटान आदेशभन्दा तेब्बर बढी काठ काटेको आरोपमा पक्राउ परेका सामुदायिक वनका अध्यक्ष र काठ व्यवसायी जिल्ला अदालतबाट १०/१० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

तानसेन नगरपालिका–११, बन्दीपोखराको तिलाहार साँखर सल्लेरी सामुदायिक वनका अध्यक्ष गणेशप्रसाद घिमिरे र काठ व्यवसायी नवीन घिमिरे धरौटीमा छुटेका हुन् ।

वनका कोषाध्यक्ष अमरबहादुर राना भने तत्काल धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । उनीहरु जेठ १३ गते पक्राउ परेका हुन् । १० जनालाई मुद्दा दायर गरिएकोमा सात जनालाई भने अदालतमा पेस गरिएको छैन ।

मंगलबारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश खड्गबहादुर केसीको एकल इजलासले तीनै जनालाई १०/१० लाख धरौटी माग गरेका हुन् । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध वन ऐन २०७६ अनुसार सजाय मागदाबी गरेको थियो । थप सात जना कार्यसमितिमा बसेर निर्णयमा हस्ताक्षर गरेकाले अनुसन्धानको घेरामा परेको जिल्ला अदालतका तहसिलदार सुदर्शनप्रसाद खनालले बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत अर्जुनप्रसाद चापागाईका अनुसार उक्त वनमा कटान आदेशभन्दा ३ हजार ५ सय २६ क्युफिट बढी काठ काटिएको छ । वन कार्यालयले तिलाहार सामुदायिक वनलाई २ हजार ७४ क्युफिट काठ काट्न आदेश दिएको थियो । सामुदायिक वनले ५ हजार ६ सय क्युफिट काठ काटेर घाटगद्दीका लागि बाहिर लगेको देखिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : ०८ बजे