२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

आजबाट जोरविजोरमा गाडी चल्न थाले, मोटरसाइकलमा चालक मात्रै



काठमाडौँ ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज(शुक्रबार) देखि जोर विजोर प्रणाली लागु भएको छ । त्यसै अनुसार आजबाट गाडी चल्न थालेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ ।उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार आजदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ ।उनले जसअनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पांग्रे सवारी साधन मोटरसाइकल, स्कुटर, मोपे मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजे बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ । तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् ।

यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने महाशाखाले उल्लेख गरेको छ।अत्यावश्यक काम बाहेक जोर विजोर प्रणालीलाई उल्लंघन गरेर सवारी साधन चलाउने उपर नियमानुसार कारवाही गर्ने महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए । उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ३३ बजे