५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगाका क्वारेन्टाइनमा योग शिक्षा र आयुर्वेद औषधी वितरण



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिहरुको लागि योग शिक्षा संचालन गरिएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र र मोतिपुर आयुर्वेद औषधालयको संयुक्त आयोजनामा नगरका क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिहरुको लागि योग शिक्षा संगै तनाव व्यवस्थापन र रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटि वितरण गरिएको हो ।

शुक्रबार नगरको सिद्धार्थ क्याम्पसको आइसोलेसन, बाल मा.वि.बैरिया, वाणगंगगा मा.वि. गजेहडाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि योग शिक्षा सहित विभिन्न आयुर्वेद औषधी वितरण गरिएको छ । पछिल्लो समय समुदायमा कोरोना रोग भन्दा पनि डरत्रासका कारण व्यक्तिमा तनाब सिर्जना भएको भन्दै त्यसको व्यवस्थापनमा योग शिक्षाको महत्व बढि भएको बताइएको छ । नियमित योग अभ्यास, आत्मबल उच्च तथा आर्युवेद औषधीले कोरोनामाथी जित हासिल हुने भन्दै यसको उपयोगीता बढ्दै गएको छ ।

कार्यक्रममा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका डा.विजय भुत्रेल, हरिलाल पाध्या, मोतिपुरका तेज बहादुर सोमै, उत्प्रेरक बुद्धिसागर वेल्वासे लगाएतको टोलीले नगरका क्वारेन्टाइन पुगेर योग शिक्षा तथा आयुर्वेद औषधी वितरण गरेको थियो । उत्प्रेरक वेल्वासेले सम्वन्धित वडाअध्यक्ष र नगरले आवश्यकता महसुस गरेमा योग शिक्षालाई निरन्तरता दिने जानकारी दिनुभयो । त्यस्तै वेल्वासले शितगंगा नगरपालिका १ र २ वडाका ५ स्थानमा योग शिक्षा सहित औषधी वितरण गरेको जानकारी दिनुभयो ।

बाल मा.वि.मा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले कोरोना सम्बन्धी भ्रम र नकारात्मक कुराले क्वारेन्टाइन बस्ने व्यक्तिलाई समाजमा हेयको दृष्टिले हेर्ने गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रअ अर्जुन शाहीले क्वारेन्टाइन व्यवस्थापनमा विद्यालयको तर्फबाट सक्दो सहयोग गरेको बताउदै उनीहरुलाई सकात्मक व्यवहारको आवश्यकतामा जोड दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : १० बजे