५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युवाले मागे वाणगंगा नगरसंग खर्च विवरण, आरडिटीकै भरमा घर पठाएको पनि विरोध



विमल गैरे/उदय पोख्रेल, चार नम्बर ।
केही दिनयता देशका विभिन्न शहरमा सरकारका विरुद्ध युवाहरुले प्रदर्शन गरिरहेका छन् । सरकारले कोरोना नियन्त्रणका नाममा १० अर्ब खर्च गरेको र पीसीआर जाँच नबढाएकोमा युवाहरुको आक्रोस छ । विशेषगरी भ्रष्ट्रचार र अनियमितता रोक्न युवारुले सरकारलाई खबरदारी गरिरहेका छन् । यद्यपि कतिपय स्थानमा गरिएका प्रदर्शनको क्रममा प्ले कार्डमा बोकेका नारा समाजमा अपाच्य लाग्ने खालका रहेको भन्दै विरोध पनि भैरहेको छ । सरकारको विरोध मात्र नभएर हासिमजाक जसरी प्ले कार्ड बोकेर हिड्ने क्रम पनि बढ्दो छ । जसले गर्दा युवाहरुको आन्दोलनलाई नेतृत्वविहीन आन्दोलनको गन्तव्य छैन् भन्दै टिप्पणी उठ्न थालेको छ ।

तर, शनिबार विहान कपिलवस्तुको वाणगंगामा गरिएको प्रदर्शन मर्यादित देखिएको छ । यस क्षेत्रका अढाई सय बढी युवाहरुको उपस्थिती रहेको प्रदर्शनमा एमसीसी खारेजी देखि स्थानीय सरकारसम्मले कोरोनाको नाममा गरेको खर्च विवरण सार्वजनिक हुनुपर्ने माग उठेको छ ।

प्रदर्शन पछि भएको कोणसभामा बोल्दै युवा नेता चन्द्रकान्त पोख्रेलले कोरोनाको नाममा गरिएको खर्चको एक एक हिसाब जनतालाई दिनुपर्ने माग गर्नुभयो । वाणगंगा नगरपालिका लक्षित यस्तो माग राख्नुभएका नेता पोख्रेलले सबै जनता सामु नगरपालिकाले खर्च सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो ।

नगरपालिकाले भेडाबाख्रा हुले झै क्वारेनटाइनमा हुलेर राखेको भन्दै यसलाई व्यवस्थित बनाउन सुझाव दिनुभयो । राहतको नाममा एकपटक १५⁄२० किलो, दाल चामल, नुन तेल बाडेर वाणगंगा उम्किन खोजेको पनि आरोप लगाउनुभयो । मेयर, उपमेयर जुन पार्टीको भएपनि त्यसमा मतलव नभएको बताउँदै उहाँले यसको हिसाबकिताब जनताले खोज्ने बताउनुभयो । राहतको नाममा नगरले लाखौं पैसा उठाएको र खर्च ५० लाख बढी गरेको सुन्नमा आएको भन्दै यसको हिसाब किताब दिनु पर्छ कि पर्दैन ? उहाँले प्रश्न गर्नुभयो ।

नगरपालिकाले कतिजनालाई पीसीआर जाँच गरायो यसको पनि जवाफ दिनुपर्ने माग गर्नुभयो । आरडिटीकै भरमा क्वारेनटाइनमा बसेकाहरुलाई छाड्न थालेको भन्दै यो काम तत्काल बन्द गर्न माग गर्नुभयो । आफुहरुको विरोध केन्द्र सरकारको मात्र नभएर स्थानीय सरकारको पनि भएको उहाँले बताउनुभयो ।

देशका लागि एक दिन भएपनि समय दिनु पर्छ भनेर आजको कार्यक्रम गरेको भन्दै नेता पोख्रेलले प्रधानमन्त्री ओलीको मात्र नभएर देउवा र वाणगंगाका मेयर उपमेयरको पनि भएको बताउनुभयो ।
चर्चित एमसीसीबारे बोल्दै उहाँले खातक बुँदाहरु संशोधन नगरी पारित गर्न नहुनेमा जोड दिनुभयो । यसमा शेरबहादुर र केपि ओली किन मिले ? यसको जवाफ आफुहरुलाई चाहिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  १ : २४ बजे