५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

असार १० मा बुद्धभूमिको सातौं नगरसभा, वडाध्यक्ष चौधरीलाई नगर प्रवक्ताको जिम्मेवारी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले असार १० गते बजेट ल्याउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगर सभाको मिति टुंगो लगाएको हो ।

नगर सभाको मिति तोकिएसंगै बुद्धभूमि आव ०७७/०७८ को बजेट तयारीमा जुटेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवीलाई जानकारी दिनुभयो ।

नगरको बजेट कस्तो आकारको बन्छ अझै टुंगो लागि नसकेको र प्रदेश सरकारले असार १ गते सार्वजनिक गर्ने बजेट पछाडी थाहा हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । केन्द्रले यो बर्ष केहि बजेट घटाएर पठाएको उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण नगरबाट उठ्ने राजश्व संकलनमा केहि समस्या देखिएपनि समग्रमा चालु आवमा ल्याइएको लक्ष्य पूरा हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगरको प्रमुख आन्तरिक स्रोत नदीजन्य पदार्थ हो । तर, यो बर्ष नदीजन्य पदार्थको ठेक्का समयमा लगाउन सफल भएको बुद्धभूमिले लकडाउनका कारण ठेकेदारले आधा समय नदीजन्य पदार्थ निकाल्न पाएका थिएनन् । यो विषयमा के हुन्छ अझै निर्णय भैसकेको छैन् ।

बुद्धभूमिले यो बर्ष स्वास्थ्य, शिक्षा, कृषिलाई केन्द्रमा राखेर नीति कार्यक्रमसहितको बजेट बनाउने तयारी गरेको जनाइएको छ ।

नगर कार्यपालिका बैठकले १० वटालाई बजेटको सिलिङ तीन तहलाई आधार मानेर पठाउने भएको छ । भूगोल, जनसंख्या र आन्तरिक आयका आधारमा वडालाई बजेट दिने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

जसमा वडा नं. ९ र १० भूगोलको हिसाबमा ठूला भएकाले ७५ लाख देखि ७८ लाख पाउने भएका छन् । यस्तै वडा नं. १, २, ३, ४ र ८ ले ७०/७० लाखको बजेट पाउने भएका छन भने वडा नं. ५, ६ र ७ ले ६५ लाख बराबरको बजेट पाउनेछन् ।

वडाध्यक्ष थारुलाई नगर प्रवक्ताको जिम्मेवारी

नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी वडाध्यक्ष पवनकुमार चौधरीले पाउनुभएको छ । वडा नं. ४ का वडाध्यक्ष रहनुभएका चौधरीले नगर प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो । अब समग्र नगरका गतिविधिकोबारे आधिकारीक धारणा नगर प्रवक्ता मार्फत सार्वजनिक गर्ने बुद्धभूमिले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  १० : ४० बजे