२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

प्रदेश ५ को बजेटमा कपिलवस्तुः १ सय शैयाको सरुवा रोग अस्पताल देखि उखु जुस उद्योग स्थापनासम्म



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ सरकारले आर्थिक बर्ष ०७७/०७८ को बजेटमा कपिलवस्तुलाई पनि प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले अहिलेको बजेटमा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता राखेर बजेट ल्याएको छ । जसमा कपिलवस्तु प्रदेशको प्राथमिकतामा परेको हो ।

प्रदेशको स्वास्थ्य तर्फको बजेटमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल कपिलवस्तुमा बनाउने योजना छ । कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित बनेको कपिलवस्तुमा सरुवा तथा संक्रामक रोगको रोकथाम, नियन्त्रण एंव उपचार प्रयोशाला परिक्षण सेवासहित १ सय शैयाको सरुवा रोग अस्पताल निर्माण हुने भएको हो ।

जिल्लाको शिवराज नगरपालिकामा उक्त अस्पताल निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको अर्थमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिनुभयो । नेपाल सरकारको सहकार्यमा उक्त अस्पताल निर्माण हुने उहाँले सदन समक्ष बताउनुभयो ।

प्रदेश सरकारले आयुर्वेदिक तथा बैकल्पिक चिकित्सा पद्धतीलाई पनि जोड दिएको छ । दाङको विजौरीको प्रादेशिक आयुर्वेदिक चिकित्सालय र बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालयलाई प्रदेशका लागि आयुर्वेदिक औषधि उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको प्रदेश सरकारले कपिलवस्तुमा आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणमासमेत बजेट विनियोजन गरेको छ । बाँकेसहित कपिलवस्तुमा यसको लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पोख्रेलले बताउनुभयो ।

शिक्षा तर्फ कपिलवस्तुका मुस्लिम समुदायका छात्रा प्राथमिकतामा परेका छन् । नेपालमै मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लामा मुस्लिम छात्राबाससहितको नमुना विद्यालय निर्माणका लागि बजेट छुट्याइएको हो ।

शिक्षामा मुस्लिम छात्राहरुको सहभागीता बृद्धि गर्न कपिलवस्तुसहितका जिल्लामा सञ्चालित ६ विद्यालयमा मुस्लिम छात्राहरुको छात्राबाससहितको नमुना विद्यालयमा रुपान्तरण गर्न एकमुष्ट ३ करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री पोख्रेलले जानकारी दिनुभयो ।

कृषि क्षेत्रको आमुल परिवर्तनका लागि प्रदेश सरकारले विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको छ । जसमध्ये कपिलवस्तुलाई पनि प्राथमिकतामा राखिएको छ ।

प्रदेशले एक जिल्ला एक स्रोत केन्द्रको अवधारणा अनुसार बीउविजन नस्लसुधार लगायत उत्पादन सामग्री र प्राज्ञिक सेवा सुनिश्चित गर्ने गरी स्थानीय तहसंगको सहकार्यमा १२ वटै जिल्लामा स्रोत केन्द्र स्थापना गर्ने कार्य अगाडी बढाउन ७ करोड ५० लाख बजेट विनियोजन गरेको मन्त्री पोख्रेलले जनाउनुभयो । जसमा कपिलवस्तुमा भैसीपालनको स्रोत केन्द्र स्थापना हुनेछ ।

कपिलवस्तुको पश्चिमी क्षेत्रमा उखु उत्पादन हुँदै आएको छ । तर, सुगर मिल नहुँदा किसानलाई उखु बेच्न समस्या परिरहेको बेला अब प्रदेशले उखु जुस उद्योग स्थापना गर्ने भएको छ । उखु किसानको बजारीकरणका लागि जिल्लामा उखु जुस उद्योग स्थापना गर्न थालिएको हो । साथै स्थानीय उद्योगसंग भविष्यमा उत्पादक कृषकहरुसंग पूर्व खरिद सम्झौता गराई दीगो बजारीकरणको व्यवस्था मिलाउने उहाँले जनाउनुभयो ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ८ : १० बजे